अमरराज नहर्की
तनहुँ, फागुन ९ गते । तनहुँको आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिका छोराछोरीले अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले आगामी शैक्षिक सत्रदेखि जनप्रतिनिधिले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णय गरेको छ ।
सामुदायिक विद्यालयप्रतिको जनविश्वास बढाउन, शिक्षाको गुणस्तर उकास्न र शिक्षा सबैका लागि समान धारणाको विकास गर्न यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । राज्यले सामुदायिक विद्यालयमा लगानी गरेअनुरूपको प्रतिफल प्राप्त नभएकाले सुधारका लागि दबाब दिने उद्देश्यअनुरूप सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको अध्यक्ष चुमानले स्पष्ट पार्नुभयो ।
शैक्षिक गुणस्तर वृद्धि गर्न र सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाउनका यस निर्णयले मद्दत पुग्ने विश्वास लिएका छौँ, अध्यक्ष चुमानले भन्नुभयो । जनप्रतिनिधिका छोराछोरीले सरकारी विद्यालयमा पढ्न थालेपछि खस्कँदै गएको शैक्षिक अवस्थामा सुधार भई सहज र सुलभ रूपमा पढ्ने वातावरण कायम हुने विश्वास गाउँपालिकाको छ ।
सरकारी विद्यालयको अवस्थामा सुधार ल्याउनका लागि राज्यको नेतृत्व गर्ने मानिसले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन थालेपछि दृष्टिकोणमा समेत परिवर्तन आउने हुँदा निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । पालिकामा कार्यरत कर्मचारी र शिक्षकलाई पनि सामुदायिक विद्यालयमा नै छोराछोरी पठाउन आग्रह गरिएको निवेदन पठाउने तयारी भइरहेको अधिकृत शर्मा बताउनुहुन्छ ।
“बोडिङ स्कुलभन्दा सरकारी विद्यालयको नतिजा राम्रो बनाउन यस्तो निर्णयले सहयोग गर्ने अपेक्षा लिएका छौँ,” प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयो, “आगामी शैक्षिक सत्र २०८० सालदेखि आफ्ना बालबच्चालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय गरिएको छ ।”
यस गाउँपालिकामा ३२ जना जनप्रतिनिधि रहेका छन् । पालिकामा ३५ वटा सामुदायिक विद्यालयमा करिब चार हजार तीन सय विद्यार्थी छन् । सामुदायिक विद्यालयमा पढ्न आउने विद्यार्थीको सहजता तथा सुविधाका लागि गाउँपालिकाको शतप्रतिशत अनुदानमा स्कुल बस हस्तान्तरण गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार पहिलो चरणमा पालिकाका तीनदेखि पाँचवटा विद्यालयलाई बस हस्तान्तरण गर्ने तयारी गरिएको छ । वडा नम्बर–५ को वडा कार्यालय भवनमा विद्यालय सार्ने निर्णय भएको छ ।
सो वडामा रहेको इन्द्रदेवी आधारभूत विद्यालयको भवन जीर्ण भएको, खेल मैदानसमेत पर्याप्त नभएकाले वडाको भवनमा विद्यालय सार्ने निर्णय गरेको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।