अमरराज नहर्की
तनहुँ, फागुन ९ गते । तनहुँको आँबुखैरेनी स्थित इलाका प्रहरी कार्यालय आँबुखैरेनीले हत्या तथा गुण्डागर्दी गरेको आरोपमा गोरखाका एक युवकलाई पक्राउ गरेको छ ।
गोरखाको पालुङटार–५ घर भएका ३३ वर्षीय मधुराम भुजेल ‘गैँडे’ पक्राउ परेको प्रहरीले जनाएको छ । भुजेलले मङ्सिर १२ गते राति तनहुँको आबुँखैरेनी गाउँपालिका तल्लोबजारस्थित आबुँखैरेनी–गोरखा सडक खण्डमा विष्णुप्रसाद जोशीलाई धारिलो हतियार प्रहार गरेका थिए । ज्यान मार्ने उद्योग गरी फरार भएका भुजेललाई सोमबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
भुजेलले स्थानीय व्यापारीलाई पनि गुण्डागर्दी शैलीमा दुःख दिने गरेको प्रहरीले जनाएको छ । भुजेललाई तनहुँ जिल्ला अदालतबाट सोमबार म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।