• १३ साउन २०८१, आइतबार

राष्ट्रपति निर्वाचनबारे जसपा आन्तरिक छलफलमा

blog

जनता समाजवादी पार्टी (जसपा) र केन्द्रीय कार्यकारिणी समितिको बैठकपति सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पार्टीका प्रवक्ता प्रकाश अधिकारी । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, फागुन ७ गते । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे अन्य दलहरूसँग छलफल गर्दै आएको सो पार्टीले आइतबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइ सो विषयमा छलफल सुरु गरेको हो ।

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गर्ने बेला नभएपनि त्यस सम्बन्धमा बैठकमा छलफल गरिएको पार्टीका प्रवक्ता प्रकाश अधिकारीले जानकारी दिनुभयो । बैठकमा पार्टीको विधान अधिवेशनको तयारीका विषयमा पनि छलफल गरिएको थियो ।

विधान अधिवेशन र त्यसको समयतालिकासहितको विषयमा बैठकमा छलफल गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पार्टीको आजको बैठकमा मुख्यतया पार्टीको विधान अधिवेशन र त्यसको समयहरूको सवाल र समसामयिक राजनीतिका विषयमा छलफल भयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे पार्टीको ध्यानाकर्षण भएको छ । पार्टीले यसमा सोचिराखेको छ । त्यसबारेमा अहिले औपचारिक निर्णय भइसकेको छैन।  किनभने कुनै फिचर क्लियर भइसकेको छैन । कुनै पनि उम्मेदवारहरूको बारेमा टुङ्गो पनि लागि सकेको छैन । यसमा पार्टीले भर्खरै केही छलफल गर्नुपर्छ भन्ने पक्षमा छैन । छलफल सबै राजनीतिक दलहरूसँग जारी छ । त्यस अवस्थामा पछि पार्टीले निर्णय गर्छ ।’’

सरकारलाई समर्थन गरेको जसपा उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ । यही फागुन २५ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।