• १३ मंसिर २०८१, बिहिबार

प्रजातन्त्र दिवसमा नाकामा सरसफाइ

blog

प्रजातन्त्र दिवसको अवसरमा बाँकेको जमूनाह नाकामा सरसफाई गरिदैं । तस्विर : गोविन्द शर्मा, बाँके ।

गोविन्द शर्मा

बाँके, फागुन ७ गते । प्रजातन्त्र दिवसको अवसरमा नेपाल-भारत सीमाक्षेत्रको जमुनाह नाकामा सरसफाइ गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेको सहकार्यमा सीमा नाकामा सरसफाइ गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।

नगर प्रमुख विष्टले भन्नुभयो, “प्रजातन्त्र दिवसको अवसर पारेर साङ्केतिक रूपमा सरसफाइ अभियान थालिएको हो, नगरलाई सफा र स्वच्छ राख्न सरसफाइ कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाइने छ ।” उहाँले विदेशी पर्यटकहरू भित्रिने नाका भएका कारण जमुनाहा क्षेत्रबाट सरसफाइ अभियानको सुरुवात गरिएको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सफा, स्वच्छ र सुन्दर सहर बनाउन सबैको हातेमालो जरुरी रहेको र सरसफाइ अभियानलाई निरन्तररुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय नेपालगञ्जमा भारतीय पर्यटक आउने क्रम बढ्न थालेको भन्दै उहाँले सरसफाइ नै पर्यटकको आकर्षणका लागि पहिलो आवश्यकता भएको बताउनुभयो ।

सरसफाइ कार्यक्रममा प्रहरी प्रमुख सन्तोषसिंह राठौर, सशस्त्र प्रहरी प्रमुख रमेश शाही, सरसफाइ अभियन्ता डा. विनोद कर्ण, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, सरसफाइकर्मी लगायतको उपस्थिति थियो ।

नगर उपप्रमुख कमरुद्धिन राईले नेपालगञ्जलाई सफा र स्वच्छ राख्ने दायित्व सबैको भएको बताउँदै नागरिकमा व्यवहार परिवर्तन पनि आवश्यक रहेको बताउनुभयो । क्लिन नेपालगञ्ज-ग्रिन नेपालगञ्जका अभियन्ता डा.कर्णले आफूहरूले साप्ताहिकरुपमा अघि बढाएको सरसफाइ अभियानले नागरिकमा सचेतना र जागरण ल्याएको स्मरण गराउँदै उक्त अभियानलाई प्रतिकूल अवस्थाका कारण निरन्तरता दिन नसकेको बताउँदै अब नेपालगञ्ज उपमहानगरपालिकासँग सधैँ हातेमालो र सहकार्य गर्न तत्पर रहने बताउनुभयो ।