• १७ असार २०८१, सोमबार

जजिरा एयरलाइन्सले पुनः उडान सुरु गर्ने

blog

गौतम बुद्ध विमानस्थलमा जजिरा एयरलाइन्सको विमान । फाईल तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, ७ फागुन गते । सात महिना कुवेत-भैरहवा अन्तर्राष्ट्रिय उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले आगामी मार्च ९ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट जजिराले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न सुरु गरेको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फ २०२२ मे १६ देखि २०२२ डिसेम्बर १८ सम्म उडान १५४ वटा र त्यत्तिकै सङ्ख्यामा अवतरण भएका थिए । उक्त अवधिमा १३ हजार पाँच सय ९३ जना यात्रुहरू भैरहवा ओर्लिएका थिए र १८ हजार २५ जना यात्रुहरू यहाँबाट विदेश उडेका थिए । यसबाट जम्मा ३१ हजार ६१८ जना यात्रुहरूले सेवा लिएका थिए । 

पछिल्लो समयमा मौसमको कारण देखाउँदै जजिराले उडान–अवतरण स्थगित गरेको थियो । अहिले यसको सेवा काठमाडौं केन्द्रित छ ।

जजिराले उडान रोकेपछि भैरहवामा रहेका निजी क्षेत्रका सङ्घसंस्था, पर्यटन व्यवसायी लगायतले पुनः उडान सुरु गर्न भन्दै पहल थालेका थिए । यस विषयमा सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देही र जजिरा एयरलाइन्सका प्रतिनिधिबीच भैरहवामा छलफलसमेत भएको थियो । यस्तै, नेपाल ट्राभल्स टुर्स सङ्घ लुम्बिनी प्रदेश (नाट्टा) ले पनि पहल थालेको थियो ।

जजिराका प्रतिनिधिसँग दुई संस्थाले गरेको छलफलमा पुनः उडान–अवतरण गर्न एयरलाइन्स तयार भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताउनुभयो । जजिरा एयरलाइन्सको नेपालस्थित कमर्शियल व्यवस्थापक अमित नागरथले आगामी मार्च ९ तारिखदेखि पुनः उडान सञ्चालन गर्ने जानकारी दिएको छलफलमा सहभागी सङ्घका अध्यक्ष न्यौपानेले बताउनुभयो ।

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिँदा निजी क्षेत्र निराश छ । अध्यक्ष न्यौपानेले भन्नुभयो, “विमानस्थल हाम्रो आशा र भरोसा हो, यही विमानस्थललाई लक्षित गरेर व्यवसायीले अर्बौँ लगानी गरेका छन् तर उडान रोकिँदा धेरै चिन्तित छौँ । लगानी डुब्न नदिन पनि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउनुपर्छ । यसमा हाम्रो निरन्तर पहल रहन्छ ।”

विमानस्थल सञ्चालनमा भारतसँग सिधा एयर रुट छैन । भारतसँग हाल एकतर्फी मात्र रुट भएकोले समस्या भएको विमानस्थलका अधिकारी बताउनुहुन्छ । यस्तै, भारतीय नागरिकलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने नो अब्जेक्सन सर्टिफिकेट (एनओसीे दिने व्यवस्था पनि छैन । इन्स्टुमेन्ट ल्याण्डिङ सिस्टम (आईएलएस) सञ्चालनमा ल्याउन पनि भारतका कारण समस्या छ । आईएलएस कम भिजिबिलिटीमा पनि विमान उडान–अवतरण गर्न सकिने उपकरण हो ।

पछिल्ला दिनमा विमानस्थलको भविष्यलाई लिएर सर्वत्र चिन्ता छ । सञ्चालनमा आएको छोटो समयमै बिजनेस विहीन भए पनि चिन्ता बढेको हो । विमानस्थल लक्षित गरेर व्यवसायीले गरेको अर्बौँ लगानीबारे पनि अहिले बहस भइरहेको छ । 

नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्त भट्टराईले कुनै पनि हालतमा विमानस्थल सञ्चालन हुनुपर्ने बताउनुभयो । “विमानस्थल सञ्चालन र नियमित उडानका लागि निजी क्षेत्रबाट सक्दो पहल गरेका छौँ, सरकारले पनि अलि बढी यो विमानस्थललाई प्राथमिकता राख्नुपर्छ”, उहाँले भन्नुभयो, “पुनः विमानस्थलबाट जजिराले उडान सुरु गर्ने सङ्केत गरेको छ । यो सुखद हो । अब पूर्ण क्षमतामा विमानस्थल सञ्चालन गर्नुपर्छ ।”