अमरगढी समाचारदाता
डडेल्धुरा, फागुन ७ गते । डडेल्धुराका विकास निर्माणका काममा उपभोक्ता समितिदेखि कामदारसम्म महिलाहरू मात्रै हुने गरेका छन् । गाउँमा पुरुष नै नरहेपछि उपभोक्ता समितिदेखि निर्माण कार्यमा महिलाहरू मात्रै हुने गरेका हुन् । गाउँघरमा भइरहेका प्रायः सबै समिति सदस्य र कामदार महिलाहरू मात्रै भेटिन्छन् । पुरुष रोजगारी र अध्ययनका लागि घरबाहिर रहेपछि गाउँमा महिलाहरू मात्रै रहेका छन् ।
स्थानीय तहले विनियोजन गरेका विकास निर्माणका काम र प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा प्रायः महिलाहरू छनोट भएका छन् । अमरगढी नगरपालिका–७ को भट्गाउँमा बाटो बनाउन नगरपालिकाबाट १० लाख रुपियाँ विनियोजन भएको थियो ।
बाटो बनाउने काम अहिले महिलाहरूले नै गरिरहेका छन् । दक्ष जनशक्तिमा दुई जना पुरुष छन् । वडाध्यक्ष खड्क बोहराले भन्नुभयो, “बाँकी काम गर्ने ४० जना महिला छन् ।” उपभोक्ता समितिमा पनि अध्यक्षलगायत सबै महिला मात्रै रहेको उहाँले बताउनुभयो ।
गाउँमा खासै पुरुषहरू छैनन्, भट्गाउँ बाटो निर्माण समिति अध्यक्ष सरस्वती भण्डारीले भन्नुभयो, “घरमा भएका पुरुषहरू पनि कोही व्यापारमा व्यस्त रहनुभएको छ भने कोही नोकरीमै हुनुहुन्छ ।”
“गाउँमा महिलाहरूले नै तरकारी खेती गरिरहेका छन् । बिहान–बेलुकी घरको काम र तरकारी बारीमा काम गरे पनि दिउँसो प्रायः काम हुँदैन । त्यसकारण महिलाहरूले नै समिति बनाई बाटो निर्माणको काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो । बाटो निर्माणका लागि दुई जना पुरुष दक्ष जनशक्तिका रूपमा काम गरिरहेको उहाँले बताउनुभयो । समितिमा सचिव, कोषाध्यक्षलगायत सदस्यहरू समेत महिलाहरू नै रहेको उहाँले बताउनुभयो ।
जङ्गली जनावरहरूले लगाएको खेतीपाती सखाप पार्न थालेपछि यहाँका महिला तरकारी खेती गर्दै आएका छन् । पहिले पहिले घरको काम, खेतीपातीसँगै गाईबस्तु पाल्दै आएका महिला आजभोलि भने गाईबस्तुसमेत पालन गर्न छोडेका छन् । वन सामुदायिक बनाइएपछि गाईबस्तु वनमा छोड्न नमिल्ने, घाँस, दाउरासमेत बाह्रै महिना काट्न, गर्न नमिल्ने भएपछि पछिल्ला समयमा महिला फुर्सदिला बन्दै गएको उहाँको भनाइ छ ।
जङ्गली जनावर बँदेल, बाँदरको आतङ्क बढेपछि स्थानीयले घरभन्दा ठाढाका खेतबारीमा खेतीपाती गर्न छोडेका छन् । घर नजिकका बारीमा गाउँले सबैले तरकारी खेती गर्न थालेपछि महिलाहरू फुर्सदिला हँुदा विकास निर्माणका काममा एकजुट भएको उहाँको भनाइ छ ।
अमरगढी नगरपालिकाका अधिकांश गाउँमा हाल महिलाहरूकै उपभोक्ता समिति बनेको र काम पनि महिलाहरूले नै गरिरहेको अमरगढी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।