गोरखापत्र अनलाइन
धनगढी, फागुन ६ गते । सुदूरपश्चिमको प्रमुख धार्मिक स्थल बेहडाबाबा मन्दिरमा आज शिवरात्रिका दिन भक्तजनको घुइँचो लागेको छ । धनगढी उपमहानगरपालिका –१६ रामपुर गाउँमा अवस्थित मन्दिरमा भगवान् शिवको दर्शन गर्ने भक्तजनको घुइँचो लागेको हो ।
परापूर्वकालमा शिव भगवानको लिङ्ग आफै उत्पत्ति भएपछि सो ठाउँमा अहिले भव्य मन्दिर निर्माण गरिएको छ । चिताएको र मागेको वर पाइने विश्वास भक्तजनलाई भएपछि सो मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । आज शनिबार शिवरात्रिका दिन करिब २० हजार भक्तजनले बेहडाबाबा मन्दिरको दर्शन गरेको त्यहाँ पुग्नुभएका स्थानीय गोमा आचार्यले बताउनुभयो ।
मन्दिरमा ठूलो भीड भएकाले आफूहरू बाहिरबाटै शिव भगवानको दर्शन गरेर फर्किएको उहाँले सुनाउनुभयो । आन्तरिक तथा बाह्य पर्यटकको राम्रो सम्भावना रहेको सो मन्दिरको वरिपरि भौतिक पूर्वाधार विकास भए पनि मन्दिरसम्म पुग्ने बाटो र पुल पुलेसाको विकास हुन सकेमा मन्दिरमा भक्तजनलाई पुग्न थप सहज हुने उहाँले बताउनुभयो ।
मन्दिर दर्शनका लागि धनगढीबाट बेहडाबाबा पुग्नुभएका वरिष्ठ साहित्यकार श्रेष्ठप्रिया पत्थरले पहिलो पटक बेहडाबाबा मन्दिरको दर्शन गरेर मन हर्षित भएको बताउनुभयो । सुन्दर प्रकृति र वातावरणका बीचमा अवस्थित मन्दिरको दर्शन गरेर मन आनन्द र सन्तुष्ट भएको बताउनुभयो । मन्दिर जङ्गलको बीचमा भएकाले प्राकृतिक वातावरण भएको उहाँले बताउनुभयो ।
धनगढी सहरदेखि बेहडाबाबा पुग्ने बाटो र नदीमा पुल निर्माण गर्न सके लाखौँ आन्तरिक र बाह्य पर्यटक जाने वातावरण बन्ने उहाँले सुनाउनुभयो । त्यसकालागि स्थानीय सरकार, प्रदेश तथा सङ्घीय सरकारले पनि ध्यान दिनुपर्ने उहाँको सुझाव छ । सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका तथा प्रदेश राजधानी धनगढीबाट नजिकमै अवस्थित शिव भगवानको प्राकृतिक मन्दिरको दर्शनका लागि आज भक्तजनको घुइँचो देखेको उहाँले बताउनुभयो ।
धनगढी बजारबाट करिब १५ किलोमिटर पूर्वमा पर्ने सो मन्दिर पुग्न दुई वटा जङ्गल र दुई वटा खुटिया र शिवगंगा नदी पार गरेर जानुपर्छ । बीच बीचमा बाटो कालोपत्र भए पनि नदीमा पुल र जङ्गलका बीचमा पर्ने साना खोला खोल्सामा पुल तथा कल्भर्ट बनाउन सके आवतजावत गर्ने दर्शनार्थीलाई सहज हुने उहाँले बताउनुभयो ।
पहिलेको तुलनामा मन्दिरको भौतिक पूर्वाधार विकास उल्लेख्यरुपमा भए पनि धनगढी सहरबाट बेहडाबाबा मन्दिरसम्म पुग्न राम्रो बाटो र नदीमा पुल निर्माण गर्न सके धार्मिक पर्यटक थप भित्र्याउन सकिनेमा मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष खेमबहादुर चन्दले बताउनुभयो ।
बेहडाबाबा पुरानो र यस क्षेत्रको प्रख्यात मन्दिर भएकाले वार्षिक लाखौँ भक्तजनले मन्दिरको दर्शन गर्नेगरेको स्थानीयको भनाइ छ । सो मन्दिरमा मुख्यतः गङ्गा दशहरा, शिवरात्रिमा ठूलो मेला लाग्नेगर्छ । नेपाली र भारतीय भक्तजनको भीड लाग्ने सो मन्दिरको महिमाबारे स्थानीय बयोबृद्धले चर्चा गर्ने गर्छन् । भगवान् शिवको दर्शन गर्दा मागेको वर प्राप्त हुने हुनाले भक्तजनको भीड लाग्नेगरेको उहाँहरूको बुझाइ छ ।