• १२ मंसिर २०८१, बुधबार

महाकालीमा दसवटा झोलुङ्गे पुल निर्माण

blog

दार्चुला समाचारदाता

दार्चुला, फागुन ६ गते । व्यास गाउँपालिकाको मालगाउँ र मलघट्टेमा नेपाल–भारत जोड्ने दुईवटा झोलुङ्गे पुल सञ्चालनमा आएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी रीना जोशीले दुईवटै पुलको बिहीबार संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । नेपाल सरकारले मलघट्टेमा १२० मिटर लामो र मालघाटमा १४० मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । जिल्ला सुरक्षा समितिको गएसाता बसेको बैठकले सुन्सेरा जोड्ने मलघट्टे पुलमा नेपाल प्रहरी र मालगाउँ जोड्ने पुलमा सशस्त्र प्रहरीलाई तत्काल पुलको सुरक्षा एवं सञ्चालनमा खटाउने निर्णय गरेको थियो ।

व्यास गाउँपालिका–२, दुम्लिङमा अझै झोलुङ्गे पुल निर्माण भएको छैन । स्थानीयले पटक–पटक झोलुङ्गे पुल राख्न माग गरे पनि सुनुवाइ हुन नसकेको व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले बताउनुभयो । दुम्लिङमा पुल थप्न पहल भइरहेको उहाँको भनाइ छ । महाकालीमा धमाधम पुल बनेसँगै तुइन र ट्युब विस्थापन हुँदै गएको व्यास गाउँपालिकाका स्थानीय दीपक भट्टले जानकारी दिनुभयो ।

व्यास क्षेत्रका अधिकांश मानिस दैनिक उपभोग्य सामाग्री किनमेलका लागि भारतीय बजार जाने गर्छन् । पुलसम्म पुग्न घुमाउरो बाटो प्रयोग गर्नुपर्ने भएकाले स्थानीयले अझै पनि केही स्थानमा जोखिमपूर्ण तुइन प्रयोग गरेर यात्रा गर्ने गरेको बताइन्छ । सीमा नदी क्षेत्रका अधिकांश स्थानमा झोलुङ्गे पुल बनिसकेकाले तुइन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने स्थानीय 

बुद्धिजीवीको भनाइ छ । 

महाकाली नदी तर्ने क्रममा दुर्घटनामा परी व्यास गाउँपालिका–२, मालका जयसिंह धामीको डेढ वर्षपहिले मृत्यु भएको थियो । तुइन तर्ने क्रममा भरतीय एसएसबीले तुइन फुस्काइदिएर धामी नदीमा बेपत्ता हुनुभएको थियो । सो ठाउँमा समेत झोलुङ्गे पुल सञ्चालनमा आएको छ । 

तुइन र ट्युब प्रयोग गरी महाकाली नदी तर्ने क्रममा अहिलेसम्म ६६ जनाले ज्यान गुमाइसकेका छन् । व्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले ज्यानमारा तुइन विस्थापन गरी झोलुङ्गे पुुलको निर्माणले महाकाली नदीमा हुने जोखिमपूर्ण यात्रा सुरक्षित भएको बताउनुभयो ।

यहाँका स्थानीय बासिन्दा बजार आउजाउ गर्न मात्र हैन, बिहेबारी र मेलापातका लागि समेत नेपाल–भारत आउजाउ गर्ने गर्छन् । व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरका अनुसार यसअघि पुल निर्माणको सम्झौता भए पनि ठेकेदारले काममा ढिलाइ गरेका कारण समस्या भएको थियो । पुलले दुवै देशको सम्बन्धमा नयाँ आयाम थपिदिएको स्थानीयको भनाइ छ । पुल सञ्चालनमा आएसँगै बिहेबारी, सामान ढुवानी र आवतजावतमा सहज भएको छ । 

दार्चुलास्थित महाकाली नदीमाथि 

नेपाल–भारत जोड्ने १० वटा झोलुङ्गे पुल सञ्चालनमा आएका छन् । नेपाल सरकारको तुइन विस्थापन कार्यक्रमअन्तर्गत पछिल्लो दुई वर्षमा महाकालीमा चारवटा पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । तुइन विस्थापन कार्यक्रम सञ्चालन भएपछि २०७३ सालयता लेकम गाउँपालिका–३, लाली; मालिकार्जुन गाउँपालिका–६, बाँकु, व्यास गाउँपालिका–६, बडूगाउँ र तिगरम; व्यास गाउँपालिका–२, मालगाउँ र व्यास–४, मलघट्टेमा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । 

यसअघि दार्चुला सदरमुकाम खलङ्गास्थित पुलघाट, महाकाली नगरपालिका–९ दत्तु, व्यास गाउँपालिका–१ सीतापुल र मालिकार्जुन गाउँपालिका–७ जोलजीवीमा पुल सञ्चालनमा थियो । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारत पिथौरागढको मल्लाछारछुम जोड्ने गरी सुदूरपहाडमै पहिलो पक्की पुल निर्माणको काम भइरहेको छ ।