• १२ साउन २०८१, शनिबार

हाम्रो सम्पदा

पनौतीको मल्लकालीन ब्रह्मायणी मन्दिर

blog

काभ्रे, फागुन ६ गते । काभ्रेको पनौती नगरपालिका वडा नं. ७ अर्थात् पनौती बजारमा रहेको त्रिवेणीघाट पारी उत्तरतर्फ पवित्र स्थल सचीतीर्थ कै किनारमा अवस्थित प्रख्यात ब्रह्मायणी मन्दिर । प्यागोडा शैलीको यो मन्दिर निकै नै आकर्षक र कलात्मक छ । यस मन्दिरको छानाको भित्री भागमा अनुपम कलात्मक कलाकृतिहरू रहेका छन् ।

ब्रह्मायणीदेवी काभ्रे जिल्लाकै एक शक्तिशाली देवी तथा शक्तिपीठको रूपमा रहेको स्थानीयहरू बताउँछन् । यो मन्दिर कुन्जगिरी पर्वतको काखमा अवस्थित कलात्मक मन्दिर हो । यस मन्दिरको निर्माण रणजीत मल्लकी आमा विश्वलक्ष्मी मल्लले बनाएको उल्लेख गरिएको छ। विश्वलक्ष्मी भूपतीन्द्र मल्लकी पत्नी हुन्। 

मन्दिरको अभिलेख राजा रण जीत मल्लको समयमा उनकी आमा विश्वलक्ष्मीले मन्दिरभित्र गरिने पञ्चोपचार पूजा र सोका लागि भूमि व्यवस्था गरिदिएको उल्लेख छ। यसका साथै मन्दिरमै रहेको ने.स. ८३६ मा लेखिएको शिलापत्रमा श्री विश्वलक्ष्मीदेवीले श्री ३ ब्रह्मायणी देवल बनाई गुठीका निम्ति खेत चढाउनु भयो भनी पन्तिया अभिलेख, सङ्ख्या २३ मा उल्लेख छ । यसबाट भूपतीन्द्र मल्लको मृत्युपछि उनका छोरा रणजीत मल्लको समयमा रानी विश्वलक्ष्मीले ब्रह्मायणीको देवघर निर्माण गरिएको हुन्। 

यस मन्दिरको पश्चिमतर्फ राखिएको शिलालेखमा संवत् ८३६ असार महिना शुक्लपक्ष नवमी तिथिमा श्री श्री जयभूपतीन्द्र मल्लदेवकी पत्नी, श्री श्री जयरणजीत मल्लदेवलाई जन्माउने श्री विश्वलक्ष्मीदेवीले श्री ३ ब्रह्मायणीदेवीको व्रतबन्ध आदि पञ्चोपचार पूजाका निम्ति गुठी बनाई २० रोपनी भूमिदान गर्नुभयो भनी पन्तिया अभिलेख, सङ्ख्या २३ मा उल्लेख भएबाट मन्दिरको पूजाआजा तथा जात्रापर्वलाई व्यवस्थित गर्न राजा रण जीत मल्लको समयमा उनकी आमा विश्व लक्ष्मीदेवीले मन्दिरभित्र गरिने पञ्चोपचार पूजाका लागि भूमिको व्यवस्था गरिदिएको स्पष्ट हुन्छ ।

मन्दिरमा रहेका आँखीझ्याल र ढोकाहरू निकै नै आकर्षक रूपका देखिन्छन्। मन्दिर भित्र ब्रह्मायणी देवीका साथै दाँया र बाँया अन्य विभिन्न देव देवताका मूर्तिहरू छन्। वैशाख पूर्णिमाका दिन यस मन्दिरमा मेला लाग्ने गर्दछ। उक्त दिन भक्तजनको अत्यधिक घुइँचो हुने गर्दछ।

रात्रिको समयमा पनि यस मन्दिरमा भक्तजनहरू रहने गर्दछन्। मूर्तिको बायाँतर्फ रहेको शिलालेखले यो मन्दिर प्राचीन भएको पुष्टि समेत गर्दछ।  ब्रह्मायणीदेवीको मूर्ति अगाडि एउटा खाल्डो छ। उक्त खाल्डोमा बाह्रबर्षे मकर मेलाभरि जल उत्पन्न हुने जनआस्था पाइन्छ।