• १२ मंसिर २०८१, बुधबार

डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते

blog

केशवचन्द्र महरा

दिपायल, फागुन ६ गते । डोटीमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको केआई गाउँपालिका १ लोलीमा सुप. प्र. ०१२३००१ च ३३२९ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा केआईसिंह गाउँपालिका १  डुम्रा कोटका ३६ वर्षीय जिप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारिमभाडीका ४१ वर्षीय धन बहादुर तिरुवाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार दुर्घटनामा थप ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा केआइसिंह गाउँपालिका १ डुम्रा कोटका २७ वर्षीय तेज तिरुवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

त्यस्तै डुम्रा कोटकै ४ वर्षीय बालक समीर तिरुवा, २३ वर्षीया लक्ष्मी तिरुवा, १९ वर्षीय मीन लुहार र वडा नम्बर २ जारिमभाडीका २४ वर्षीय सुरज तिरुवा  सामान्य घाइते भएका छन् । सामान्य घाइतेहरूलाई उद्धार पछि घर पठाइएको छ भने गम्भीर घाइतेहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ ।

जिपमा सवार यात्रुहरू शुक्रवार मात्रै भारतबाट आएका थिए । गाडी रिजर्भ गरेर दिपायलबाट केआइसिंह जाँदै गर्दा जिप दुर्घटना भएको हो । शुक्रबार राति ११ः३० बजे जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका थप अनुसन्धानका लागि प्रहरी निरीक्षक जोशीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ ।