• ५ पुस २०८२, शनिबार

गोरखापत्रका प्रधान सम्पादक भट्टराई पुरस्कृत

blog

गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई पुरस्कृत हुनुहुँदै । तस्बिर : कविता थापा

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ५ गते । गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई पुरस्कृत हुनुभएको छ । आमसञ्चार तथा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान गरेबापत ‘भोग्य सगुन राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९’ बाट उहाँ आज शुक्रबार पुरस्कृत हुनुभएको हो ।

कर्ण–कौशल्या सीता स्मृति प्रतिष्ठान र भोग्य–सगुन सेवा समाजद्वारा यहाँ संयुक्त रुपमा आयोजित सम्मान तथा पुरस्कार समर्पण कार्यक्रममा प्रधान सम्पादक भट्टराईलाई नगद २० हजार रुपियाँसहित सो पुरस्कार प्रदान गरिएको हो । 

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा.कुलप्रसाद कोइरालाले आयोजक संस्थाको तर्फबाट सो पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा वरिष्ठ कवि डा. कृष्णराज डी.सी (दाङ), स्वास्थ्यकर्मी एकनाथ तिमिल्सिना (भोजपुर) लाई क्रमशः ‘सीता राणा स्मृति पुरस्कार २०७९’ र ‘सीता राणा प्रतिभा पुरस्कार २०७९’ बाट पुरस्कृत गरिएको छ । 

उहाँहरुलाई क्रमशः २५ हजार र १५ हजार रुपियाँ नगदसहित सो पुरस्कार प्रदान गरिएको थियो । प्रधान सम्पादक भट्टराईले समाज सेवा र सञ्चार क्षेत्रको योगदान पु¥याउनुभएका व्यक्तित्वको नामसँग जोडिएको पुरस्कार पाउँदा आफू गौरवान्वित भएको बताउँदै पुरस्कारसँगै पत्रकारिता क्षेत्रमा जिम्मेवारी बढेको धारणा व्यक्त गर्नुभयो ।