• १३ मंसिर २०८१, बिहिबार

शताब्दी पुरानो भवनबाट उपचार

blog

पाल्पा समाचारदाता

पाल्पा, फागुन ५ गते ।  पाल्पा अस्पतालका लागि नयाँ भवन बनाउन पहल गरिएको डेढ वर्ष बिते पनि मूर्त रूप लिन सकेको छैन । भवन निर्माण गर्न जग्गा टुङ्गो लाग्न नसक्दा करिब एक सय वर्ष पुरानो भवनबाट सेवा दिनुपर्ने बाध्यता छ । 

तीन वर्षअघि ५० शøयाको अस्पतालमा स्तरोन्नति भएको सो अस्पतालको नयाँ भवन बनाउन पर्याप्त जग्गा नहुँदा समस्या भएको हो । अस्पतालनजिकै रहेको मोहन कन्या माध्यमिक विद्यालयको जग्गा र अस्पतालको जग्गा सट्टीपट्टी गर्ने निर्णय भएको पनि एक वर्ष बितेको छ । 

सो जग्गाबारे निर्णय गर्न जिल्लाबाट सम्बन्धित मन्त्रालयमा पत्राचार भए पनि निर्णय हुन बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ । पाल्पा अस्पतालनजिकै रहेको मोहन कन्या माविको छ रोपनी जग्गा पाल्पा अस्पतालको नाममा र पाल्पा अस्पताल (पाल्पा हेल्थ सेन्टर)को नाममा रहेको १४ आना जग्गासहितको दुईवटा भवन मोहन कन्या माविको नाममा सट्टापट्टा गर्ने निर्णय भएको थियो । मोहन कन्या मावि व्यवस्थापन समितिका अध्यक्ष झपेन्द्र गहिरेका अनुसार जग्गाबारे जिल्लाबाट निर्णय गरेर मन्त्रालयमा पठाएका छौँ तर पनि मन्त्रालयबाट आवश्यक प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

नयाँ भवन बनाउने प्रक्रिया रोकिँदा जीर्ण भवनबाटै सेवा दिनुपर्ने बाध्यता छ । अस्पताल स्तरोन्नति भए पनि गुणस्तरीय सेवा दिन भने समस्या रहेको स्वास्थ्यकर्मी बताउँछन् । “एक सय वर्ष पुरानो भवनलाई मर्मत तथा टालटुल गरेर सेवा दिनुपर्ने बाध्यता छ,” अस्पतालकी नर्सिङ अधिकृत लक्ष्मी जीसीले भन्नुभयो, “सुविधायुक्त भवन नहुँदा सेवा विस्तार गर्न सकेका छैनौँ ।” अस्पतालका लागि पर्याप्त कोठा नहुँदा एउटै कोठाबाट धेरै सेवा दिनुपर्ने बाध्यता छ । 

अस्पतालमा दैनिक तीन सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । तर अस्पतालको पूर्वाधार स्तरोन्नति नहुँदा सेवा विस्तार गर्न समस्या भएको चिकित्सकको भनाइ छ । “सेवा विस्तारका लागि आवश्यक आधारभूत पूर्वाधार नै छैन,” अस्पतालका चिकित्सक डा. रमेश खड्काले भन्नुभयो । सो भवन निर्माणका लागि एक वर्षअघि पुनर्निर्माण प्राधिकरणबाट २३ करोड रुपियाँ अस्पतालको नाममा आएको थियो । तर जग्गाको टुङ्गो नलाग्दा उक्त रकम फिर्ता भएको अस्पतालले जनाएको छ ।