• १२ मंसिर २०८१, बुधबार

नारायणगढ–मुग्लिन सडकखण्ड

भित्तो काट्न १५ दिन थप

blog

शान्ता अधिकारी

चितवन, फागुन ५ गते । निर्धारित मितिमा भित्तो काट्ने काम सम्पन्न नभएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः १५ दिन दैनिक चार घण्टा यातायात बन्द गरी काम गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाको बैठकले थप १५ दिनका लागि सडक बन्द गरेर काम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । 

गत पुस ५ गतेदेखि दैनिक चार घण्टा सडक बन्द गरी काम गर्दासमेत काम पूरा हुन नसकेपछि विष्फोटक पदार्थ प्रयोगको विकल्पसहित फागुन ७ गतेबाट लागू  हुने गरी मध्यान्ह १२ देखि अपरान्ह ४ बजेसम्म थप १५ दिन दैनिक चार घण्टा यातायात पूर्णतया बन्द गरी काम गर्ने निर्णय गरिएको हो । 

गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन बन्द गरी सडकको काम गरिँदै आएको थियो । पछि माघ ६ गतेदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० बन्द गरिएको थियो । थप गरिएको समय फागुन ६ गते सकिँदैछ । 

१५ दिन आवागमन बन्द गरी काम गर्ने विषयमा निर्णय भएसँगै भित्तो काट्ने काम कठिन भएपछि उक्त बैठकले विष्फोटक पदार्थ प्रयोगको अनुमतिका लागि मन्त्रालयमा सिफारिससमेत गरेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख इन्जिनियर किरण कार्कीका अनुसार तुइन र चिसेन्जी खोलामा निर्माणाधीन पुलका लागि भित्तो काट्ने काम कठिन भएपछि उक्त क्षेत्रमा विष्फोटक पदार्थ प्रयोगका लागि निर्माण कम्पनीले माग गरेको थियो । उहाँका अनुसार तुइन र चिसेन्जी दुवै खोलाको नारायणगढतर्फको क्षेत्रमा कडा चट्टानका कारण निर्माणको काम कठिन भएको हो । 

नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधीन तुइन, चिसेन्जी, काली र सिमलताल खोलाका पुलका लागि भित्तो काट्ने प्रयोजनमा बितेको दुई महिना उक्त सडकखण्ड दैनिक चार घण्टा पूर्ण रूपमा बन्द गरिँदै आएको थियो । 

तुइन र चिसेन्जी खोलामा निर्माण गरिने पुलका लागि भित्तो काट्ने सकिएको छैन । ती दुई खोलामा निर्माण गरिने पुलका लागि भित्तो काट्ने काम कडा चट्टानका कारण ३० देखि ३५ प्रतिशत अझै बाँकी छ । इन्जिनियर कार्कीका अनुसार माथिल्लो भागमा काट्ने काम सकिएको छ तल्लो तहमा कडा चट्टानका कारण मेसिनले काम गरे पनि परिणाम दिन सकिएको छैन । 

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि एक अर्ब २५ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ । १५ पुलमध्ये नौवटा निर्माण सम्पन्न भइसकेका छन् । जुगेडी, रिग्दीखोला, कालीखोला, तुइनखोला र चिसेन्जी खोलामा पुल निर्माणको काम जारी छ । 

२०७६ चैत ११ गते गरिएको पुल निर्माण सम्झौताअनुसार गत पुस ५ गते निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने थियो । समयमा काम सम्पन्न नभएपछि आगामी २०८० पुस ९ गतेसम्म म्याद थप गरिएको छ ।