काठमाडौं, फागुन ४ गते । अनेरास्ववियुको मतदान विद्युतीय मेसिनबाट सुरु भएको छ ।
अध्यक्ष पदका उम्मेदवार समेत रहनुभएका विद्यार्थी नेता आर.सी. लामिछानेले काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भर्खरै विद्युतीय मेसिनबाट मतदान सुरु भएको जानकारी दिनुभयो ।
अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गते मंगलबारदेखि काठमाडौंमा सुरु भएको थियो ।
अध्यक्ष पदमा आर.सी. लामिछानेसहित लोकेश निरौला, मोती वि.क., समिक बडाल र वाङ्छु योन्जन गरी जम्मा पाँचजनाको उम्मेदवारी रहेको छ ।
अनेरास्ववियु निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत कुमार खकुरेलले अहिले ४२ वटा विद्युतीय मेसिनबाट मतदान कार्य जारी रहेको जानकारी दिनुभयो ।
खकुरेलले भन्नुभयो, “४२ वटा विद्युतीय मेसिनबाट मतदान कार्य जारी छ । १५ सय ८८ प्रतिनिधि सदस्य हुनुहुन्छ ।”
प्रदेश, खुला, समावेशी, आदिवासी जनजाति, मधेसी, थारु, महिला गरी जम्मा ८२ क्लष्टर रहेको उहाँले बताउनुभयो । विश्वविद्यालयको छुट्टै क्लष्टर रहेको र नौवटा स्थानबाट दर्ता कार्य भइरहेको छ ।
अध्यक्षमा एक पदका लागि पाँच जना, खुला उपाध्यक्ष चार पदका लागि १६ जना, महासचिव खुला एक पदका लागि पाँच, सचिव खुला छ पदका लागि ४७, सचिव महिला ९खुला० तीन पदका लागि दश, सचिव समावेशी खुला एक पदका लागि चार, कोषाध्यक्ष खुला एक पदका लागि चारजना प्रतिस्पर्धामा हुनुहुन्छ ।
यसैगरी, सातै प्रदेशगत कमिटीमा खुला, महिला, समावेशी, उत्पिडित, मधेसी, थारु, अल्पसङ्ख्यक लगायत विभिन्न क्लष्टरमा प्रतिस्पर्धा हुदैछ । अनुशासन, निर्वाचन र लेखा आयोगमा पदाधिकारी तथा सदस्य पदमा पनि प्रतिस्पर्धा भएको छ ।
मतदान कार्यक्रम आज साँझ ६, ७ बजेसम्म हुने जनाइएको छ । महाधिवेशनबाट १७ पदाधिकारी, तीन आयोग एवम् एक सय ९९ केन्द्रीय कमिटी निर्वाचित हुनेछन् ।