काठमाडौँ, फागुन ४ गते । जर्मनीले नेपाललाई १५ लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ ।
कोभ्याक्स सुविधामार्फत उक्त खोप बुधबार नेपाललाई दिइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीलाई नेपालका लागि जर्मन राजदूत डा. थ्रोमास प्रिन्सले खोप हस्तान्तरण गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गिरीले खोप लक्षित वर्ग तथा ज्येष्ठ नागरिकमा पु-याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । भूकम्पको बेला जर्मनीले गरेको सहयोगका लागि पनि मन्त्री गिरीले आभार प्रकट गर्नुभयो ।
खोप हस्तान्तरण गर्दै राजदूत डा. प्रिन्सले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताउनुभयो । जर्मनीले दिएको खोपको राम्रो सदुपयोग हुने विश्वास रातदूत प्रिन्सले व्यक्त गर्नुभयो । २०७२ सालको विनाशकारी भूकम्पमा जर्मनीले स्वास्थ्य पूर्वाधार र अन्य प्राविधिक सहायताको क्षेत्रमा सहयोग गरेको थियो ।
त्यस्तै कोभिड–१९ को महामारीमा समेत जर्मन सरकारले स्वास्थ्य सामग्री, भ्याक्सिन र आर्थिक सहायता प्रदान गरेको थियो । सन् १९५८ देखि नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध कायम भएको हो ।