• १५ चैत २०८०, बिहिबार

सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय

blog

काठमाडौँ, फागुन  ३  गते । प्रतिनिधि सभाका सांसदहरूले जनजीविकाका विभिन्न विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले प्रजातन्त्र स्थापनाको ६२ वर्ष पूरा हुँदा पनि नेपालीहरू आधारभूत आवश्यकताकै लागि भौँतारिइदिनुपरेको बताउनुभयो । धनी र गरिबले पढ्ने दुई थरी विद्यालय अरू कुन देशमा छ भनी उहाँले प्रश्न गर्नुभयो ।

आर्थिक अवस्था कमजोर हुनेले स्वास्थ्य उपचार गर्न नसक्ने गरी मेडिकल माफियाले काम गरेको, छिमेकी देशमा छोटो समयमा अस्पताल बन्ने गरेको उल्लेख गर्नुहुँदै नेपालमा क्यान्सर अस्पताल भए पनि परीक्षण गर्ने यन्त्र नभएकोतर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले सडक दुर्घटनाबाट वार्षिक तीन प्रतिशत कूल गार्हस्थ्य उत्पादन गुमाइरहेकाले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले स्विडेन, जर्मनमा सडक दुर्घटना कम गरिएको उदाहरण सुनाउनुहुँदै अन्तर्राष्ट्रियस्तरको चालक अनुमतिपत्रको व्यवस्था गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

विकास तथा प्रविधि समितिले सडक दुर्घटना कम गर्न दिएको प्रतिवेदन कार्यान्वयन नभएको भन्दै उहाँले सडक विभागले बनाएको सडक ठीक छ छैन भनी जाँच गर्ने छुट्टै निकाय चाहिने माग गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्ती मगरले सङ्घीयता लागू भएको स्थानीय तहमा आवश्यक कर्मचारीको कमी हुँदा स्थानीय जनताले सेवा प्रवाहका कठिनाइ भएको बताउनुभयो । उहाँले किसानलाई अनुदानभन्दा सहुलियतको व्यवस्था गरेर किसानका उत्पादनका लागि बजार सुनिश्चित गर्न सके मात्र आत्मनिर्भर मुखी कृषि बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले संसद्मा सत्ता पक्ष र विपक्ष भए पनि संविधान कार्यान्वयनका सम्बन्धमा सबै शक्ति एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

किसानले मल र बीउ समयमै पाउनुपर्छ

स्वतन्त्र सांसद हरि ढकालले किसानको मुद्दा सबैले उठाए पनि सरकारले दिने अनुदान वास्तविक किसानले पाउन नसकेको भन्दै वडास्तरमै यसको व्यवस्था हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बिना जैसवालले विगतमा सञ्चालित तर हाल बन्द भएका उद्योग पुनः सञ्चालन गर्न माग गर्नुभयो । यसले एकातिर रोजगारी सिर्जना हुने र अर्कोतिर आयातमा कमी हुने उहाँको भनाइ थियो ।

जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले नागरिकतासम्बन्धी विधेयक संसद्बाट दुई÷दुई पटक पारित हुँदा पनि राष्ट्रपतिबाट रोकिनु दुःखद भएको बताउनुभयो । उहाँले कानुनको अभावमा जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउन नसकेकोप्रति सदनको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले विगतको सवारी अनुमति चालकपत्रको प्रावधान सच्याई अहिले ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्थाले अहिले मुलुकमा दुई मापदण्डका सवारीचालक अनुमतिपत्र भएको उल्लेख गर्नुभयो । साथै उहाँले सवारी चालक अनुमतिपत्रमा गरिएको खुकुलो मापदण्डले सवारी दुर्घटना बढ्नसक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

जनमत पार्टीका सांसद अनिता देवीले मुलुकमा किसानले समयमा मल र बीउ नपाउने तथा सिँचाइको व्यवस्था नहुने अवस्था रहेको उल्लेख गर्दै मुलुकमा लाखौँ सवारी साधन भए पनि ती सवारी साधनमा प्रयोग हुने इन्धन कहिले पनि कमी नहुने तर किसानले पैसा तिरेर पनि समयमा मल नपाउने किन भनी प्रश्न गर्नुभयो ।

लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न माग

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले मुलुकभर जग्गाको कित्ताकाट नखुल्दा जनतालाई मर्का भएको बताउँदै तत्काल कित्ताकाट खोल्न माग गर्नुभयो । उहाँले अहिले लघु वित्त संस्थाहरूले गाउँघरमा चर्को ब्याज लिएर आतङ्क मच्चाइरहेको भन्दै यो तत्काल रोक्नुपर्ने बताउनुभयो । उहाँले तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गर्नुभयो ।  

नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले टीकापुर घटनाका सम्बन्धमा जानकारी गराउँदै राज्यबाट पक्षपातपूर्ण व्यवहार भएको टिप्पणी गर्नुभयो । उहाँले कसैलाई झुट्टा मुद्दा लगाएर कसैलाई थुन्न नपाइनेसमेत बताउनुभयो । उहाँले पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न भएको ढिलाइप्रति प्रश्न गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले मुलुकको स्वाभिमान र राष्ट्रिय अखण्डता खतरामा पर्ने गरी कुनै काम नगर्न सत्तामा रहेका राजनीतिक दलहरूलाई सुझाव दिनुभयो । नेपाली कांग्रेसका प्रदीप पौडेलले विगतको संसद् विघटनको कदम गलत सिद्ध भइसकेकाले अव यो संसद् त्यसतर्फ सजग रहोस् भन्नुभयो । उहाँले काम खोज्न बाध्य भएर लाखौँ युवा बिदेसिनु परेको यथार्थ प्रस्तुत गर्दै स्वदेशमै रोजगारी सृजना गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।