• ४ मंसिर २०८२, बिहिबार

गोरखाका किसानलाई थ्रेसरको सहारा

blog

गुणबहादुर रोका 

सुलीकोट, मङ्सिर ४ गते । गोरखाका चुमनुब्री गाउँपालिका बाहेक अन्य १० पालिकाभित्र रहेका किसानहरु अहिले धान भित्र्याउन व्यस्त छन् । परम्परागत हाते श्रममा निर्भर भई दिनौसम्म लाग्ने धान भित्रयाउने प्रक्रिया अहिले प्रविधिका साथै सरल, छिटो र सहज बन्दै गएको छ । 

पछिल्ला वर्षहरुमा गाउँगाउँमा थ्रेसर मेसिनको प्रयोग बढेसँगै किसानहरुको जीवन शैलीमा नयाँ परिवर्तन आएको छ भने समय, मेहनत र लागत तीनै पक्षमा बचत भएपछि किसानहरुको प्रविधि आत्मसात् गर्दै नयाँ कृषि कालको सुरुवात भएको भान हुन थालको छ । 

जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, बारपाक सुलीकोट गाउँपालिका, भिमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिकाका किसानले लगाएका फाँटहरुमा थ्रेसर मेसिनको उपयोग उल्लेख्य रुपमा बढेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । 

पहिले झैँ डोको, भकारी र मान्ने पाखाले धान चुट्ने परम्परा बिस्तारै हराउँदै गएको छ । धान काटेपछि थ्रेसरमा एकैचोटी भित्र्याउन पाएपछि न त धेरै मान्छे खोज्नुपर्ने, न त मौसमको अनियमितताप्रति चिन्ता, एकै दिनमा धेरे क्विन्टल धान सहजै चुटेर भित्र्याउन सकिने भएकाले किसानहरु यसलाई आधुनिक कृषिको आधार भन्दै प्रशंसा गर्छन् ।  

अहिले विशेष गरी गोरखा जिल्लामा वैदेशिक रोजगारीतर्फ युवाहरु आकर्षित भइरहेका बेला गाउँमा बाँकी रहेका परिवारका सदस्यको श्रम अभाव तीव्र रुपमा देखिएको छ । यस्तो परिस्थितिमा मेसिनप्रतिको निर्भरता केवल विकल्प होइन, आवश्यकता पनि हो । 

थ्रेसरले छिटो धान छुटाउने मात्र होइन, क्षति पनि न्यून पारिदिने भएकाले उत्पादनसमेत सुरक्षित हुन्छ । पहिले झैँ धान कुट्दा धेरै मात्रामा झर्ने जस्ता समस्या पनि कम देखिन थालेको बारपाक सुलीकोट गाउँपालिका हाडीफाँटका किसान मोहनचन्द्र ढकालको अनुभव छ । 

गोरखा नगरपालिका – १० का किसान रामबहादुर कुमालका अनुसार पहिला धान चुट्न पाँच छ दिन लाग्थ्यो, अहिले थ्रेसर भएपछि एकै दिनमा हजारौँ क्विन्टल धान चुटेर भ्याउने गरिन्छ । जसले गर्दा लागत घट्यो, समयको बचत भयो, हामीलाई यस्तो प्रविधि गाउँमै उपलब्ध हुनु ठुलो सहयोग हो । 

गोरखा जिल्लामा थ्रेसर मेसिनको प्रयोग बढ्दै गएको छ, कृषि ज्ञान केन्द्रका अर्थविज्ञ सुमन भट्टराईले भन्नुभयो, ‘जिल्लाका ठुला फाँटका किसानहरुले सामूहिक रुपमा मेसिन किनेका छन् भने केही स्थानीय तहले अनुदानमार्फत उपलब्ध गराइदिएका छन् । यसले उत्पादनमा वृद्धि, भण्डारणमा सहजता र बजार पहुँचमा मद्दत पुर्‍याइरहेको उहाँले बताउनुभयो ।’ 

कृषि क्षेत्रलाई आधुनिकीकरणतर्फ उन्मुख गराउने यस्तो प्रविधिको प्रयोगले गोरखा बिस्तारै परम्परागत खेती प्रणालीबाट आधुनिक दक्ष र बजारमुखी कृषिततर्फ उक्लिदै गएको सङ्केत गर्छ भने प्रविधि अपनाउने किसानहरुको उत्साह हेर्दा आगामी वर्षहरुमा गोरखामा अझ बढी आधुनिक उपकरणको खेतीपातीलाई नयाँ दिशा दिने विश्वास कृषि ज्ञान केन्द्र गोरखाले गरेको छ ।