• १३ मंसिर २०८१, बिहिबार

एक्स–रे मेसिन बिग्रँदा बिरामीलाई सास्ती

blog

बिजुवार समाचारदाता

बिजुवार, फागुन ३ गते । प्युठान जिल्ला अस्पताल बिजुवारको भिडियो एक्स–रे मेसिन बिग्रँदा बिरामीलाई समस्या भएको छ। मेसिनका कारण विगत एक वर्षदेखि अस्पतालमा उपचारका लागि आउने बिरामीले सहज र सुलभ सेवा पाउन सकेका छैनन्।

अस्पतालमा एक्स–रेसम्बन्धी सेवामा समस्या भएकाले नयाँ मेसिन खरिदका लागि विभागमा माग गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रमिला खनालले बताउनुभयो। उहाँका अनुसार अस्पतालमा तीनवटा मेसिन छन्। एक वर्षअघि लुम्बिनी प्रदेश कार्यालयबाट ल्याइएको मेसिन एक महिनामै बिग्रेको थियो। निःशुल्क हुने भिडियो एक्स–रेका लागि निजी क्लिनिकमा छ सयदेखि आठ सय रुपियाँसम्म तिर्नु परेको सेवाग्राहीको गुनासो छ।  सुत्केरी गराउन श्रीमतीलाई लिएर अस्पताल पुगेका गुल्मी अग्लुङका विवश मल्लले डाक्टरले जाँच गरेर निजी क्लिनिकमा भिडियो एक्स–रे गर्न पठाएको बताउनुभयो। यस्तै माण्डवी–३ स्थित देवीस्थान स्वास्थ्य चौकीमा चार वर्षअगाडि खरिद गरिएको भिडियो एक्स–रे मेसिनसमेत सञ्चालनमा आउन सकेको छैन।

जनशक्ति अभावका कारण मेसिन सञ्चालन गर्न नसकिएको जनस्वास्थ्य निरीक्षक गिरबहादुर नेपालीले जानकारी दिनुभयो। ५० शय्याको प्युठान जिल्ला अस्पताल केवल कागजमा सीमित छ।

दैनिक दुई सय बिरामीलाई सेवा दिँदै आएको सो अस्पतालको भौतिक पूर्वाधार पनि तयार हुन सकेको छैन। प्युठान जिल्ला अस्पतालमा छिमेकी जिल्लाहरू रोल्पा, गुल्मी र अर्घाखाँचीबाट समेत बिरामी आउने गरेका छन्।