• २१ असार २०८१, शुक्रबार

दुई दशकदेखि निःशुल्क पढाउँदै निरज

blog

यादवराज पुरी 

रौतहट, फागुन ३ गते । शिक्षण सिकाइलाई सेवाको रूपमा भन्दा पेसाको रूपमा बढी हेरिने गरिन्छ अचेल। विद्यालयमा दिने शिक्षा होस् वा ‘ट्युसन’ कक्षा, शिक्षा प्रदान गरेबापत पारिश्रमिक लिने गर्छन् शिक्षक।

रौतहटको सदरमुकाम गौरमा भने दुई दशकभन्दा बढी समयदेखि निःशुल्क शिक्षा प्रदान गरी उदाहरणीय शिक्षक बन्नुभएको छ, विपन्न परिवारका एक व्यक्ति। उहाँले विद्यालय जानबाट वञ्चित वा विद्यालय बीचैमा छाडेका, आमा, बाबु वा दुवै अभिभावक नभएका, निर्धन तथा दलित समुदायका बालबालिका खोजी गरेर उनीहरूलाई २३ वर्षदेखि निःशुल्क शिक्षा प्रदान गर्दै आउनुभएको छ। 

गौर नगरपालिका–१ का नीरज साह कमजोर आर्थिक अवस्थाका बीच पनि बालबालिकालाई शिक्षाप्रति आकर्षण गराउन आवश्यक कापी, कलम र किताबसमेत किनिदिनुहुन्छ। हाल उहाँ गौर नगरपालिका–५ मा रहेको बालमन्दिर विद्यालयमा प्राथमिक तहका राहत शिक्षक हुनुहुन्छ। बिहानको समयमा उहाँले निःशुल्क शिक्षा प्रदान गरिरहनुभएको छ। 

२०५५ सालमा एसएलसी गर्नुभएका उहाँले पढाइलाई निरन्तरता दिन बस धुने काम गर्नुभयो। उहाँ भन्नुहुन्छ, “तीन दाजुभाइमा म जेठो छोरा हुँ। घरको बोझ मेरै काँधमा थियो। आफ्नो र भाइहरूको पढाइका लागि एउटा बस धोएबापत ५० रुपियाँ पाउँथे। दैनिक चार/पाँचवटा बस धुन्थेँ र सफा गर्थें। आमाबुवा चिया बेच्नुहुन्थ्यो। आर्थिक र सामाजिक रूपमा पछि परेका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्य लिई एसएलसीपछि मैले गाउँघर चहारी असहाय, गरिब तथा दलित परिवारका अभिभावकलाई मनाएर बालबालिका पढाउन सुरु गरेँ।” 

प्रारम्भिक चरणमा ठूलो चुनौती खेप्नु परेको र अभिभावकलाई कुरा बुझाउन निकै मेहनत गर्नु परेको उहाँले बताउनुभयो। उहाँले दलित अभिभावक भेला गराई शिक्षाको अधिकारबाट बालबालिकालाई वञ्चित गराउनु हुन्न भन्दै पढाउन प्रोत्साहित गर्नुभयो। अहिलेसम्म उहाँले आठ हजारभन्दा बढी बालबालिकालाई शिक्षा दिनुभएको अभिलेख छ। 

उहाँ रौतहटको बहुचर्चित र ऐतिहासिक स्थान गौर राइस मिलको भग्नावशेष भवनको बरन्डामा पढाउनुहुन्छ। बालबालिका बस्नका लागि घरबाटै बोरा बोकेर आउँछन्। यस्तो अवस्था थाहा पाएपछि पछिल्लो पटक रौतहट क्रिकेट सङ्घले एउटा त्रिपाल र दियालो क्लब गौरले शैक्षिक सामग्री सहयोग गरेको शिक्षक साह बताउनुहुन्छ। 

हाल उहाँसँग अक्षर चिन्ने र सिक्ने उमेर समूहका देखि ८ कक्षासम्मका १५० जना बालबालिका अध्ययन गर्छन्। उहाँ ती बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गराई अध्यापन गराउनुहुन्छ। उहाँसँग पढ्न गौर, राजदेवी र राजपुर नगरपालिकाका बालबालिका आउने गरेका छन्। 

गौर नगरपालिका–८, ढाँगरबस्तीकै एक अभिभावक कन्हैया ढाँगरले शिक्षक साहप्रति सम्मान व्यक्त गर्दै भन्नुभयो, “उहाँको निःस्वार्थ र विभेदरहित व्यवहारले ढाँगरबस्तीका सबै दलित नागरिकले अअआफ्ना नानीबाबुलाई पढ्न पठाएका छन्। उहाँसँग पढ्न पाउँदा हाम्रा बालबालिका खुसी भएका छन्। हामी पनि खुसी छौँ।” गौर नगरपालिकाका प्रमुख शम्भु साहले शिक्षक साहको निःस्वार्थ सेवामूलक कामप्रति नगरपालिकाको ध्यानाकर्षण भएको बताउँदै उहाँसँग अध्ययन गर्ने बालबालिकाको भौतिक तथा शैक्षिक व्यवस्थापनमा विशेष चासो राख्ने प्रतिबद्धता जनाउनुभयो।