• २१ असोज २०८१, सोमबार

पशु वधशाला सञ्चालनमा ल्याइने

blog

बुटवल समाचारदाता

बुटवल, फागुन २ गते । बुटवलमा निर्माण भएको लामो समयपछि पशु वधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीच पशु वधशाला सञ्चालन गर्ने सहमति भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयोे । सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणाबमोजिम वधशालालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिन लागिएको उहाँले बताउनुभयो । 

बाख्रापालन गर्ने किसानदेखि मासु बिक्री गर्ने व्यवसायीसम्म वधशाला निर्माण र सञ्चालनमा साझेदार रहेको र सोहीअनुसार वधशाला सञ्चालन हुने उहाँले बताउनुभयो । 

वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु वधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरेको छ । 

विधेयकले पशु वधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी वध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजतपत्र लिनुपर्नेजस्ता व्यवस्था गरेको छ । 

रुपन्देही मासु व्यवसायी सङ्घका अध्यक्ष कृष्णप्रसाद पौडेलले बुटवल उपमहानगरपालिकासँग पशु वधशाला सञ्चालनका लागि देखिएका अन्योल टुङ्गिएकाले छिट्टै नै वधशाला सञ्चालन हुने बताउनुभयो ।   

बुटवल उपमहानगरपालिका–१०, रामनगरमा दुई बिघा तीन कट्ठा क्षेत्रफलमा वधशाला निर्माण भएको छ ।