• १३ साउन २०८१, आइतबार

बेलायतबाट उच्चस्तरीय भ्रमण हुँदै

blog

काठमाडौँ, फागुन २ गते । नेपाल–बेलायत दौत्य सम्बन्ध कायम भएको शतवार्षिकीको अवसर पारेर बेलायतबाट उच्चस्तरीय भ्रमण हुने भएको छ । 

नेपालका लागि बेलायतकी राजदूत निकोला क्याथ्रिन पोलिटले बेलायतले उच्चस्तरीय भ्रमण तालिका तय गरेको जानकारी दिनुभयो । प्रतिनिधि सभा सभामुख देवराज घिमिरेसँग बेलायतकी राजदूत क्याथ्रिनले सोमबार सभामुखको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता गर्नुभएको थियो । उच्चस्तरीय भ्रमणले नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ हुने बताउँदै राजदूत क्याथ्रिनले भ्रमणबारे जानकारी दिनुभएको थियो । 

सभामुख घिमिरेका सञ्चार सल्लाहकार शेखर अधिकारीले उच्चस्तरीय भ्रमणबारे थप जानकारी प्राप्त नभइसकेको बताउनुभयो । नेपाल र बेलायतबीच सन् १९२३ मा दौत्य सम्बन्ध कायम भएको थियो । तर कूटनीतिक सम्बन्ध भने सन् १८१६ मै सुरु भएको हो । कूटनीतिक सम्बन्ध कायम भएको दुई सय वर्ष पूरा भएको अवसर पारेर बेलायती राजसंस्था वेल्स ह्यारीका राजकुमार हेनरी, अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टिवर्टले नेपालको भ्रमण गर्नुभएको थियो । 

भेटमा सभामुख घिमिरेले संसदीय व्यवस्थाको जननी बेलायतको संसदीय अभ्यासबाट नेपालले अनुभव आदान–प्रदान गर्न उत्साहित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई देशबीच दुई सय वर्ष पुरानो सम्बन्ध अविस्मरणीय छ । विकास साझेदारी र विश्वमा शान्ति स्थापनाका काममा हामीसँगै हिँडेका छौँ ।”

राजदूत क्याथ्रिनले नेपालको विधायन निर्माण प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गत निर्वाचनमार्फत नयाँ राजनीतिक दल र नयाँ प्रतिनिधि सभा सदस्य निर्वाचित भएको उल्लेख गर्दै संसद्मा उहाँहरूको उपस्थितिले नयाँपन आउने अपेक्षा गर्नुभयो ।