• १३ साउन २०८१, आइतबार

जनमुक्ति सेनाको ब्यारेक बनेका ठाउँलाई युद्ध पर्यटनमा विकास गर्नुपर्छ : मन्त्री किराती

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराती।

लीलाराज खड्का

विर्तामोड, फागुन १ गते। संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किरातीले जनमुक्ति सेनाको ब्यारेक बसेका २८ वटा स्थानलाई युद्ध पर्यटनका रुपमा विकास गरेर लानुपर्ने बताउनुभएको छ।

सोमबार २८ औ जनयुद्ध दिवसको अवसरमा झापाको शिवसत्ताक्षी नगरपालिकास्थित दोमुखामा पूर्व जनमुक्ति सेनाको सांस्कृतिक कार्यक्रममा बोल्दै संस्कृति मन्त्री किरातीले यस्तो बताउनुभएको हो।यो देशमा गणतन्त्र ल्याउनका लागि जनमुक्ति सेनाले खेलेको भूमिका र छाडेको छापलाई विश्वसामु देखाउन र भावी पुस्तालाई हस्तान्तरण गर्नका लागि  देशको पूर्व पश्चिम राजमार्ग केन्द्रित गरेर युद्ध पर्यटनका लागि सरकारले युद्ध संग्राहलय बनाउने तयारी थालेको जानकारी दिनुभयो।

 संग्राहलयका माध्यमबाट पर्यटकलाई देखाएर विदेशी मुद्रा आर्जन गर्ने र आम्दानीको स्रोत बनाउने तयारीसमेत सरकारले थालेको मन्त्री किरातीले जानकारी दिनुभयो। मन्त्री किरातीले हामीले पर्यटनको विकास गर्नका लागि स्थानीय रैथाने स्वाद र संस्कृति बिनाको पर्यटनको परिकल्पना गर्न नसकिने भन्दै नेपालमा पर्यटन अर्थतन्त्रको मुख्य खम्बा भएको बताउनुभयो।रैथाने स्वाद र मौलिकताको संरक्षण नगरी यसले पर्यटनको दिगो विकासमा टेवा नदिने उहाँको भनाइ छ।

यता पर्यटनमन्त्री किरातीले देशमा जनमुक्ति सेनाले रगत नबगाएको भए अझै पनि जनता रैतिकै रुपमा रहने भन्दै जनमुक्ति सेनाले देशको परिवर्तनमा खेलेको भुमिकालाई कम आक्न नहुने बताउनुभयो।

कार्यक्रममा प्रदेश सरकारका वन वातावरण तथा पर्यटनमन्त्री जीवन आचार्य, प्रदेश सांसद गीता तिम्सिना, नेकपा (माओवादी केन्द्र)का प्रदेश कमिटी अध्यक्ष हर्क नेम्बाङ्ग मिक्सो लगायातले देशको परिवर्तनका लागि जनमुक्ति सेनाको भूमिकाकै कारण देशमा गणतन्त्र लगायातका परिवर्तन सम्भव भएको बताउनुभयो।

कार्यक्रममा गायक शम्भु राई, प्रदिप देवान, आधुनिक देवान, बालकृष्ण गजमेरलगायातले जनवादी गीत प्रस्तुत गर्नुभएको थियो।