• १२ मंसिर २०८१, बुधबार

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा कँडेल

blog

निर्माण व्यवसायी सङ्घ मकवानपुरको ११ औँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित बालगोपाल कँडेल ।

राममणि दाहाल 

हेटौँडा, फागुन १ गते । निर्माण व्यवसायी सङ्घ मकवानपुरको ११ औँ अधिवेशनबाट सङ्घको अध्यक्षमा बालगोपाल कँडेल निर्वाचित हुनुभएको छ । कँडेल २१६ मतसहित आज निर्वाचित हुनुभएको हो । 

उहाँका प्रतिस्पर्धी श्यामसुन्दर ढकालले १७० मत प्राप्त गर्नुभएको छ । यस्तै, सङ्घको द्वितीय उपाध्यक्षमा भवनाथ अधिकारी, तृतीय उपाध्यक्षमा भीमसेन श्रेष्ठ, उपमहासचिव नीतिगततर्फ दिनेश पनेरु, उपमहासचिव आन्तरिकतर्फ सुरज बर्तौला र सहकोषाध्यक्षमा प्रकाश लामा निर्वाचित हुनुभएको छ । 

सङ्घको प्रथम उपाध्यक्षमा सागर कटुवाल, महासचिवमा राजेन्द्र चौलागाईँ र कोषाध्यक्षमा अनल श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । कार्यसमिति सदस्यहरुमा अच्युत सुवेदी, ईन्द्रप्रसाद रिजाल, चेतबहादुर थापा मगर, नवीन जोशी, भरतप्रसाद सापकोटा, लक्ष्मण सापकोटा, सविन भट्टराइ क्षेत्री, सूर्यबहादुर रोक्का र महिला सदस्यमा उमाकुमारी पौडेल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत ईश्वरराज ढकालले जानकारी दिनुभयो ।

यसैबीच सङ्घको निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा सङ्घका कानुनी सल्लाहकार एवं निर्वाचन अधिकृत ढकालले नवनिर्वाचित अध्यक्ष कँडेललाई र अध्यक्ष कँडेलले कार्यसमितिका नवनिर्वाचित अन्य पदाधिकारी एवं सदस्यहरुलाई शपथ गराउनुभयो । 

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कँडेल, पूर्व अध्यक्ष आनन्दराम पराजुली, नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष हिरालाल श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का विष्णुप्रसाद दाहालले निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले जित हारलाई स्वीकार गर्दै संस्थाको संस्थागत विकासमा लाग्नुपर्ने बताउनुभयो ।