काठमाडौं, फागुन १ गते। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुने मिति तय गरेको छ। त्रिवि रजिस्ट्रार कार्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले पुस २८ गते एक सूचना जारी गर्दै स्ववियु निर्वाचनको मितिबारे जानकारी दिएको थियो। सो अनुरूप विभिन्न राजनीतिक दल निकट विद्यार्थी सङ्गठन स्ववियु निर्वाचनको तयारीमा जुटेका छन्।
नेता निर्माणको नर्सरी स्ववियु : सिंह
नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले स्ववियु निर्वाचन नयाँ जेनेरेसन उत्पादन एवम् नेता निर्माणको एउटा नर्सरी भएको बताउनुभयो। दलमा नयाँ नेतृत्व आउन नसकेको र पुरानैले राजनीति गर्ने एवम् राज्यको बागडोर सम्हाल्ने विषय चर्को रूपमा राष्ट्रिय राजनीतिमा उठेको बेला यसमा स्ववियुले सकारात्मक हस्तक्षेप गर्ने उहाँको भनाइ छ।
सिंहले भन्नुभयो, “पहिलो कुरा, निर्वाचनमार्फत दलहरूमा नयाँ नेतृत्व आउन सकेन। पुरानै नेतृत्वले राजनीति गर्ने र राज्यको बागडाेर सम्हाल्ने स्थिति जे विषय राष्ट्रिय राजनीतिमा चर्को रूपले उठिरहेको छ, यो कुरा ब्रेक गर्न र नयाँ जेनेरेसन उत्पादन गर्न स्ववियु नेता निर्माणको एउटा नर्सरी हो। यसले सकारात्मक हस्तक्षेप गर्न पहल गर्नेछ।”
उहाँले स्ववियु निर्वाचनका लागि घोषणापत्र तयारी समिति बनाएर सुझाव सङ्कलनको काम भइरहेको जानकारी दिनुभयो। “भ्रष्टाचारमुक्त, बेथितिमुक्त स्ववियु निर्वाचन गर्ने हो भने पूर्ण समानुपातिक स्ववियु चाहिन्छ भन्ने कुरा दह्रोसँग राखेका छौँ। स्ववियु निर्वाचनको नियमावली संशोधन गर्न त्रिवि तयार नभएको कारण मिश्रित चुनाव र २८ वर्षे उमेर हदबन्दी अखिल क्रान्तिकारीकै उपलब्धि भएकाले यसलाई आधार मानेर अगाडि जाने तयारी गरिरहेका छौँ। अखिल क्रान्तिकारीको हिजोको दूरदर्शितासहितको निर्णय थियो भन्ने कुरा आजको दिनमा हामीलाई लागेको छ”, अरू विद्यार्थी सङ्गठनले पनि उमेर हदबन्दीलाई अवलम्बन गरेको उहाँले जोड्नुभयो।
स्ववियु असल राजनीतिक संस्कार सिकाउने थलो : लामिछाने
नेकपा (एमाले) निकट अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले स्ववियु निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यो निर्वाचन सम्पन्न गराउने अभिभारा विद्यार्थी सङ्गठनको काँधमा रहेको बताउनुभयो। लामो समय स्ववियु निर्वाचन हुन नसकेको अहिलेको अवस्थामा विद्यार्थी आन्दोलनको औचित्य र सान्दर्भिकता समाप्त भइसक्यो कि भन्ने गम्भीर प्रश्न उठेको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, “विद्यार्थी आन्दोलनको औचित्य छैन, सान्दर्भिकता समाप्त भइसकेको भन्ने प्रश्न उठेको छ। त्यसको जवाफ व्यवहारमा दिन जरुरी छ, पुरातन शैलीमा टायर बाल्ने खालको आन्दोलनको औचित्य छैन। विद्यार्थी सङ्गठनको आवश्यकता झन् दिनानुदिन बढ्दैछ।”
निजी क्षेत्रमा पढ्ने विद्यार्थीमा अत्यन्तै अराजनीतिक संस्कार विकास हुँदै गएको र सरकारी तथा सामुदायिक क्याम्पस/विश्वविद्यालयमा पनि पठनपाठन एवम् गुणस्तरीय शिक्षाका लागि स्ववियुको आवश्यकता रहेको उहाँले औँल्याउनुभयो। “विद्यार्थीद्वारा निर्वाचित साझा संस्था नहुँदा प्रशासनले पनि सामूहिक हितका लागि औपचारिक कुरा गर्ने वैधानिक संस्था नहुँदा प्रशासन पनि अलमलमा परेको देखिन्छ। यी सबै विषयवस्तुलाई समाधान गर्न अविच्छिन्न उत्तराधिकार, वैधानिक निर्वाचित संस्था नहुँदा अव्यवस्थित बनेको छ”, लामिछानेले भन्नुभयो।
त्यसैले, सङ्गठनले आफ्ना माग, मुद्दा अलग–अलग ढङ्गले राख्ने हुँदा अराजनीतिक गतिविधि बढेको उहाँको भनाइ छ। सङ्गठनमा असल संस्कार समेत लोप हुँदै गएको भन्नुहुँदै उहाँले विद्यार्थी बीचमा एजेण्डा लगेर सबैको मन जितेर निर्वाचन हुँदा मात्रै यसले विद्यार्थीको असल प्रतिनिधि चुनिने र यसखाले असल संस्कृति स्ववियुले सिकाउनुपर्ने भन्नुभयो।
सुझाव सङ्कलन हुँदैछ : शेर्पा
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचनको तयारी अगाडि बढेको बताउनुभयो। “स्ववियु चुनावमा अगाडि बढ्ने हो। स्ववियुको तयारी भइरहेको छ। हाम्रो केन्द्रीय समिति भोलि, पर्सीमा आउँछ ।”
शेर्पाले भन्नुभयो, “सबै छलफल भइसकेको छ। यो विषयमा घोषणापत्र तयारी समितिका एजेण्डाका विषयमा छलफल हुँदैछ। यसको दुई चरणको बैठक बसिसक्यो। हिजो पनि विद्यार्थीबाट सुझाव सङ्कलन गर्ने काम भयो। विज्ञहरूसँग पनि छलफल राखेका छौँ।” यस सम्बन्धमा विद्यार्थी र विज्ञ दुवैबाट सुझाव सङ्कलन भइरहेको उहाँको भनाइ छ।
राजनीतिभन्दा विद्यार्थीको एजेण्डा प्रमुख : पराजुली
नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले स्ववियु निर्वाचन हुनु सकारात्मक पक्ष भएको भन्नुहुँदै यसले ताजा एवम् नयाँ विचार र मान्यता बोकेको विद्यार्थी नेता जन्माउने बताउनुभयो। स्ववियु निर्वाचन विद्यार्थीको एजेण्डा केन्द्रित गरेर जानुपर्ने उहाँले बताउनुभयो।
पराजुलीले भन्नुभयो, “राजनीतिकभन्दा विद्यार्थीको एजेण्डा प्रमुख हो। त्रिवि अन्तर्गत चुनाव हुने भएकाले दुई किसिमको शिक्षा प्रणाली, एउटा पैसाले किनेर पढ्नुपर्ने अर्को चाहिँ गरिबका निम्ति जस्तो विभेदकारी शिक्षा प्रणाली आङ्गिक क्याम्पसमा छ। यसविरुद्वमा सशक्त रूपमा स्ववियुमा आवाज उठाउँछौँ।”
यस विषयमा विगतमा पनि आमरण अनशन बसेर बीबीए, बीएचएम जस्ता विषय प्राइभेट कोर्स जस्तो तर बीए, बीएड विषय सरकारी र गरिबका लागि बनाएको जस्तो भएको उहाँ बताउनुहुन्छ।
पराजुलीले शिक्षा सबैको मौलिक अधिकार भएको तर पैसामा किन्ने विषयवस्तु बनाउने प्रणालीको विकास गर्न खोजिएको बताउनुभयो। “शिक्षा हाम्रो मौलिक अधिकार हो। तर दुई किसिमको शिक्षा विकास गर्न खोजिँदैछ। यसलाई विश्वविद्यालयदेखि राज्य र दलले प्रश्रय दिने कोसिस गरिएको छ। सर्वसुलभ, निःशुल्क, संविधान प्रदत्त एकै किसिमको शिक्षा प्रणाली योग्यता अनुसारको शिक्षा दिनुपर्छ भनेर केन्द्रित रहेका छौँ”, उहाँले भन्नुभयो।
जीर्ण पूर्वाधारको व्यवस्थापन जरुरी छ : मिश्र
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी सङ्घका अध्यक्ष रोशन मिश्रले निर्वाचनमा आफूहरूले आरक्षण एवम् समानुपातिक समावेशीको एजेण्डा उठाउँदै आएको बताउनुभयो। मिश्रित प्रणालीको एजेण्डा अन्य विद्यार्थी सङ्गठनको पनि भएको भन्नुहुँदै उहाँले विद्यार्थी उत्साहित भएर निर्वाचनको तयारीमा जुटेको बताउनुभयो।
मिश्रले भन्नुभयो, “त्रिविमा बैठक बसेको थियो, निर्वाचनमा जाने कुरा भयो। आरक्षणको कुरा थाँती राखेर पनि त्यसलाई गराऔँ। समानुपातिक समावेशी, केही एजेण्डा मिश्रित प्रणालीमा जाऊँ भनेर त्यसमा हामी चुनाव गराउँछौँ भन्ने निष्कर्षका साथ विद्यार्थी सङ्गठन उत्साहित भएर निर्वाचनको तयारी गर्दैछाैँ।”
विगतदेखि शैक्षिक अवस्थाको स्तरोन्नति हुनुपर्ने विषय उठाउँदै आएको भन्नुहुँदै उहाँले सरकारी र प्राइभेट दुवैमा प्राध्यापक जोडिनु हुँदा सरकारी क्याम्पसमा उपस्थिति कम हुने अवस्था रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “सरकारी जागिर खाएर समय नदिएर पूर्ण समय प्राइभेटमा दिन पाइँदैन । सरकारी क्याम्पसमा उपस्थिति कम हुने र हाजिर मात्र गरेर जाने प्रवृत्ति छ । कक्षा लिँदा पनि राम्रोसँग नपढाउने, प्राइभेट ट्युसनमा पढाउन जाने काम बन्द हुनुपर्छ । कलेजमा हजारौँको सङ्ख्यामा विद्यार्थी छन्। नियमित विद्यार्थी दुई, चार सय मात्रै हुन्छ। त्यसको व्यवस्थापन गर्न हाम्रो एजेण्डा छ।”
विश्वविद्यालय महिनौँ दिनसम्म तालाबन्दी गर्ने, नियमित कक्षा नहुने र नतिजा वर्षौँसम्म प्रकाशन नहुनेजस्ता समस्याको समाधान गर्नेतर्फ स्ववियुले पहल गर्नुपर्ने उहाँको भनाइ छ।
संघीय प्रादेशिक शिक्षा नीतिमा जोड : यादव
जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियन, नेपालका अध्यक्ष रमेश यादवले पूर्ण समानुपातिक समावेशीमा जाने आफूहरूको माग भएको तर, स्ववियु निर्वाचन किन्तु, परन्तुका कारण रोकिन नहुने बताउनुभयो। प्रमुख राजनीतिक दल निकटका विद्यार्थी सङ्गठनले शक्तिको प्रभाव विद्यार्थी भर्ना प्रक्रियामा पर्दै आएकाले २०६५ सालपछि स्ववियु चुनाव पूर्ण रूपमा हुन नसकेको उहाँको भनाइ छ।
यादवले भन्नुभयो, “स्वतन्त्र विद्यार्थीको हक, हितका लागि हो। तर, चुनाव भयो भने हाम्रो भाग खोसिन्छ कि भन्ने किसिमले त्रिविले चाह्यो भने चुनाव गराउँछ सक्छ तर सशङ्कित छौँ चैत ५ मा गराउँछ कि गराउँदैन। मिश्रित प्रणालीमा पनि जान हामी तयार छौँ।” “देशमा दश वर्षे जनयुद्ध भयो। त्यसपछि २०६२/६३ को जनआन्दोलन, मधेश विद्रोह भयो। आदिवासी जनजाति आन्दोलन भयो त्यो बाट संविधान बनेको हो, त्यही संविधानलाई टेकेर चल्नुपर्छ। हाम्रो धारणा के छ भने, विद्यार्थीलाई पूर्ण समानुपातिक समावेशी, देशमा शिक्षा पुरै निःशुल्क हुनुपर्छ”, यादवले भन्नुभयो।
विद्यार्थीलाई शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने बरु, राज्यले महँगा गाडी, जग्गा जमिन, घर, हाउजिङ खरिद बिक्रीमा निश्चित कर लगाउनुपर्ने उहाँले बताउनुभयो। यसैगरी, सङ्घीय प्रादेशिक शिक्षा नीतिमा समाजवादी विद्यार्थीको जोड छ। उहाँले भन्नुभयो, “सङ्घीय प्रादेशिक शिक्षा नीति हुनुपर्छ। भूगोल र संस्कृति अनुरूपको सबै प्रदेशमा अध्ययन, अध्यापनक हुनुपर्छ”, लोक सेवा आयोगमा पनि त्यो व्यवस्था हुनुपर्ने उहाँको भनाइ छ।
किन हुन सकेन १५ वर्षसम्म स्ववियु निर्वाचन ?
२०३६ सालदेखि व्यवस्थित रूपमा प्रत्येक दुई दुई वर्षमा स्ववियु निर्वाचन हुँदै आएको छ। तर, २०६३ को दोस्रो जनआन्दोलन यता यो निर्वाचन नियमित हुन सकेको छैन। २०६३ सालयता दुई वर्षको क्रमभङ्ग गरेर २०६५ सालमा स्ववियु निर्वाचन भयो। त्यसपछि २०७३ सालमा त्रिविमा ६२ वटा आङ्गिक र एक हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पस हुँदा नौ वटा आङ्गिक र उपत्यकाबाहिर १७ वटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन भयो। त्यो बेला उपत्यकाका १३ वटा क्याम्पस र उपत्यकाबाहिर २३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन।
यस विषयमा अध्यक्ष सिंह भन्नुहुन्छ, “सङ्गठनमा अलोकतान्त्रिक चरित्र देखा पर्यो। आफू हार्ने भएपछि भोटे ताल्चा बोकेर जाने, चुनाव भाँड्ने अलोकतान्त्रिक चरित्र देखा प¥यो। त्रिविका पदाधिकारी, क्याम्पस प्रमुख, निर्वाचन आयोगका प्रमुख, सदस्य कुनै न कुनै विचार र राजनीतिक दलमा आबद्ध हुने, तिनका भ्रातृ सङ्गठन हार्ने भएपछि आयोगका प्रमुख बेपत्ता हुने, आफ्नै निर्णयविरुद्ध उभिने खालको स्थिति बन्यो।” अब यसलाई भण्डाफोर नै गरेर स्ववियु निर्वाचन समयमै गर्नुपर्ने सिंहको भनाइ छ।
यस्तै लामिछानेले विद्यार्थी सङ्गठनको भूमिका स्ववियु निर्वाचन गराउनतर्फ केन्द्रित हुन नसकेको बताउनुभयो। “विश्वविद्यालयले पनि निर्वाचन गराएर नदुखेको कपाल डोरी लगाएर किन दुखाउने भनेर निर्वाचन भएन। स्ववियु नै क्रियाशील थिएन। निर्वाचित पदाधिकार अन्यत्र गइसकेका थिए। यसकारण, एजेन्डाविहीन अवस्थामा रह्यो”, उहाँले भन्नुभयो।
पराजुलीले राजाको प्रत्यक्ष शासनकाल र माओवादी द्वन्द्वको समयमा स्ववियु निर्वाचन भएको तर पछिल्लो समयमा निर्वाचन हुन नसकेको बताउनुभयो। पराजुलीले भन्नुभयो, “त्रिविको पदाधिकारी पार्टीभित्र पनि गुटको नेतालाई पैसा बुझाएर विश्वविद्यालयलाई प्राज्ञिक उन्नयका लागि नभई, माफियाकरण, व्यापारीकरणको अखडा बनाउने चेष्टा अपनाए। विश्वविद्यालयको नियमित शैक्षिक क्यालेन्डर लागू हुन नसकने परिस्थिति निर्माण भयो ।”
पार्टी र गुटको मान्छे नियुक्ति भएकाले प्राज्ञिक मान्यता, क्षमता, ज्ञान र चेतनाको अभावका कारण विश्वविद्यालयको यो अवस्था भएको उहाँको भनाइ छ। स्ववियु निर्वाचनमा शैक्षिक, प्राज्ञिक एवम् विद्यार्थी केन्द्रित वातावरण बनाउनुपर्ने उहाँको जोड छ। प्रत्येक क्याम्पसमा उत्कृष्ट विद्यार्थी महिला र पुरुषलाई स्ववियुमा ल्याउनुपर्ने कुरा सङ्गठनले उठाउँदै आएको उहाँले बताउनुभयो।