• ४ जेठ २०८२, आइतबार

चोर्निया खोलामा पुल निर्माण गरिँदै

blog

परासी समाचारदाता

नवलपरासी, फागुन १ गते । पश्चिम नवलपरासीका प्रतापपुरको बेलाटारीबाट फड्की हुँदै सुस्ता गाउँपालिकाको नर्सहीमा जोड्ने गरी चोर्निया खोलामा पुलः निर्माणको काम सुरु भएको छ। लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक पूर्वाधार विकास कार्यालयको योजनाअनुसार नवलपरासीको प्रतापपुरको बेलाटारी र सुस्ता गाउँपालिकाको नर्सहीलाई जोड्न चोर्निया खोलामा पुल निर्माण सुरु भएको हो। 

सुस्ता गाउँपालिकाका सबइन्जिनियर विष्णुप्रसाद ज्ञवालीका अनुसार, करिब चार करोड ९९ लाख ४१ हजार २९९ रुपियाँको लगानीमा यो पुल निर्माण हुन लागेको हो। पारामाउन्ट निर्माण कम्पनी प्रालि ललितपुरले ठेक्का लिएको छ।  निर्माण कार्य सुरु गरेको एक वर्षभित्र पुलको निर्माण कार्य सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख ललित बस्नेतले बताउनुभयो। 

प्रदेश सरकारको लगानीमा बन्न लागेको यो पुल निर्माण सम्पन्न भएपछि प्रतापपुर गाउँपालिकाको बेलाटारीबाट सुस्ताको नर्सही हुँदै पारिसुस्ता जानका लागि १० किलोमिटर दूरी घट्नेछ। 

त्यस्तै सुस्ताको पश्चिमी क्षेत्रका कृषि उत्पानहरू बर्दघाटलगायतका अन्य ठूला बजारमा लैजान सहज हुनेछ। जिल्लाको सुस्ता र प्रतापपुरको यो क्षेत्र मुख्य रूपमा कृषि उत्पादनको क्षेत्र हो।  नवलपरासीको सुदूर दक्षिणपूर्वी क्षेत्रमा व्यावसायिक रूपमा केरा, उखु, बदाम, तरकारी तथा जडीबुटी खेती गरिने गरेको छ। सुस्ताको यो क्षेत्रबाट देशको राजधानी काठमाडौँ, पोखरा, नारायणगढलगायतका ठूला सहरमा निर्यात गर्न सहज हुने भएको छ।