• ६ जेठ २०८१, आइतबार

सीमापार अपराध नियन्त्रण गर्न सुझाव

blog

बाँके समाचारदाता

बाँके, फागुन १ गते । बाँके जिल्लाबाट निर्वाचित सांसद तथा स्थानीय तहका जनप्रतिनिधिले समग्र शान्ति सुरक्षा व्यवस्था सुधारका लागि सीमा क्षेत्रमा हुने चोरी, तस्करी, डकैती, अवैध गतिविधिलगायत अपराधका गतिविधि नियन्त्रणमा प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको छ। 

नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बाँकेमा आयोजना गर्नुभएको परिचयात्मक कार्यक्रममा बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणाले सीमापार अपराध नियन्त्रणमा ध्यानाकर्षण गराउनुभयो। 

सीमा नाकाबाट हुने आपराधिक गतिविधि जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्थासँग जोडिएकाले सीमापार अपराधलाई प्रमुख चुनौतीका रूपमा लिनुपर्ने धारणा राख्दै, उहाँले भन्नुभयो, राजनीतिक नेतृत्वबाट प्रहरी प्रशासनलाई कुनै खालको अनावश्यक दबाब हुनेछैन। 

प्रहरी कर्मचारीलाई पेसाप्रति बफादार र राष्ट्रपति इमानदार हुन आवश्यक रहेको छ, भन्दै उहाँले पछिल्लो समय भारतीय पर्यटकको हबका रूपमा नेपालगञ्ज फस्टाएकाले भारतीय पाहुनाको सीमा क्षेत्रमा उचित सम्मान गर्नुपर्ने बताउनुभयो। 

प्रदेश सभा सदस्य आदेश अग्रवालले खुला सीमाका कारण लागूऔषध ओसारपसार प्रमुख समस्याका रूपमा देखिएको भन्दै ई–रिक्साको व्यवस्थापन जरुरी भएको बताउनुभयो। अर्का प्रदेश सभा सदस्य भण्डारीलाल यादव र मीना श्रेष्ठले खुला सीमाका कारण हुने अपराध अन्य अपराधसँग पनि जोडिएका कारण प्रहरीले इमानदारिताका साथ काम गरेमा अन्य अपराध पनि स्वतः नियन्त्रणमा आउने बताउनुभयो। 

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले प्रहरी र स्थानीय तहबीच नियमित समन्वय र सहकार्यमा रहेमा मात्रै स्थानीय सरकारले उपलब्धिमूलक काम गर्न सक्ने बताउनुभयो। 

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राईले लागूऔषध सेवन तथा ओसारपसार र बिक्री वितरण सबैतिर प्रमुख समस्याका रूपमा रहेकाले सीमापार अपराधलगायत सबैखाले अपराध नियन्त्रणका लागि प्रहरीले सबै पक्षसँग हातेमालो गरिरहेको बताउनुभयो।

प्रहरीभित्र गलत काम गर्ने जो भए पनि कारबाहीको भागीदार हुने चेतावनी दिँदै उहाँले लुम्बिनी प्रदेशमा अपराधको वर्गीकरण गरेर फागुनदेखि विशेष सुरक्षायोजनासहित नियन्त्रण र न्यूनीकरणको काम थालिने बताउनुभयो।