• १० मंसिर २०८१, सोमबार

विद्यालय भवन बने, विद्यार्थी छैनन्

blog

दोलखा समाचारदाता 

दोलखा,फागुन १ गते । भूकम्पपछि दुर्गम गाउँठाउँमा ठूला, राम्रा सुविधासम्पन्न विद्यालय भवन बने पनि विद्यार्थीको सङ्ख्या भने घट्दै गएको छ। विद्यार्थी घट्दै गएपछि सुविधासम्पन्न भवन प्रयोगविहीन बन्न थालेका छन्। 

दोलखाको तामाकोसी गाउँपालिकामा रहेका अधिकांश विद्यालयका तल्ला कक्षामा विद्यार्थी कम हुँदै गएका छन्। विदेश पलायन र सहर केन्द्रित भई गाउँ युवाविहीन हुन थालेपछि अधिकांश विद्यालयका तल्ला कक्षामा विद्यार्थी कम हुँदै गएको बताइएको छ। 

शिक्षा नियमावलीले दिएको मापदण्डअनुसार एउटा कक्षामा ४५ जना विद्यार्थी हुनुपर्ने प्रावधान रहेको छ। गाउँपालिकाको वडा नम्बर ५ सहरेको कक्षा १२ सम्म सञ्चालनमा रहेको जनजागृति माध्यमिक विद्यालयमा बाल कक्षादेखि ४ कक्षासम्ममा १० भन्दा घटी नै छन् भने जम्मा ५१ जना विद्यार्थी रहेका छन्। कक्षा ९ र १० मा १६/१६ जना विद्यार्थी छन् भने कक्षा ११ मा २३ र कक्षा १२ मा २६ जना विद्यार्थी रहेका छन्। 

युवा विदेश पलायन हुनु र आधा घण्टा फरकमा विद्यालय रहनुले पनि विद्यालयमा विद्यार्थी कम भएको प्रधानाध्यापक नवलकिशोर झाले बताउनुभयो। वडा नम्बर ४ मालुमा सञ्चालनमा रहेको कक्षा १० सम्म पढाइ हुने गुप्तेश्वर माध्यमिक विद्यालयमा पनि तल्ला र माथिल्ला दुवै कक्षामा विद्यार्थी कम नै छन्। 

कुल ९५ मध्ये बाल कक्षामा १२ जना, कक्षा १ मा १० जना, कक्षा २ मा पाँच जना, कक्षा ३ मा नौ जना, कक्षा ४ मा ११ जना, कक्षा ५ मा ११ जना, कक्षा ६ मा छ जना, कक्षा ७ मा पाँच जना विद्यार्थी रहेका छन्। कक्षा ८ मा छ जना, कक्षा ९ मा नौ जना र कक्षा १० मा ११ जना रहेका छन्। 

हरेक वर्ष विद्यार्थी भर्नामा गिरावट आएको गुनासो गर्दै प्रधानाध्यापक डोलबहादुर बस्नेतले विद्यालय बन्द हुने खतरा बढेको बताउनुभयो। वडा नम्बर ६ च्यामामा रहेको कक्षा १–३ को जनकल्याण प्राथमिक विद्यालयमा विद्यार्थी कम हुँदै गर्दा यस वर्ष ३ कक्षा शून्य भएको प्रधानाध्यापक बच्चु दाहाल बजगाईंले बताउनुभयो। 

गाउँपालिकामा बाल विकास केन्द्र दुई, प्राथमिक तह १२, आधारभूत तह नौ, १० कक्षासम्मका चार र कक्षा १२ सम्म पढाइ हुने सात गरी कुल ३५ वटा विद्यालय रहेका छन्। विद्यार्थी घट्दै गएपछि प्राथमिक तहलाई बाल विकास केन्द्र बनाउँदा पनि बन्द हुने अवस्थामा रहेको पालिकाका शिक्षा संयोजक मेनुका बास्तोलाले बताउनुभयो।