• १३ साउन २०८१, आइतबार

सरकारको काम कारबाही प्रभावकारी र जनपक्षीय बनाइने

blog

काठमाडौँ, माघ २९ गते । सरकारका काम कारबाहीलाई प्रभावकारी तथा जनपक्षीय बनाउने विषयमा सत्तासाझेदार दलका शीर्ष नेताबीचमा छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुख्यगरी सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र सहकार्यलाई थप मजबुत बनाएर लैजाने विषयमा महत्त्वपूर्ण छलफल भएको उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।     

“सरकारमा सहभागी दलकाबीचमा सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र भएका कमीकमजोरीलाई सच्याउने विषयमा समीक्षा भयो । आगामी दिनमा यो सहकार्यलाई अझ मजबुत बनाएर लैजाने विषयमा पनि गम्भीर छलफल भएको छ”, उहाँले भन्नुभयो ।

बैठकले नियमितरुपमा यस प्रकारका भेटघाटलाई निरन्तरता दिने सहमति गरेको छ । राप्रपाका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री लिङ्देनका अनुसार वर्तमान सरकार निर्माणका क्रममा गरिएको सहमतिमा आफूहरू कायम रहेको र त्यसमा सत्ता साझेदार दलकाबीच समान धारणा रहेको भन्दै थप कुनै विषयमा सहमति गर्नुपर्ने भए त्यसका लागि पनि तयार रहेको बैठकको निष्कर्ष छ ।     

बैठकमा सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउने विषयमा पनि छलफल भएको थियो । “उपयुक्त समयमा रास्वपा सरकार आउन पनि सक्छ, केही प्राविधिक समस्या छन्, छलफल भइरहेको छ, यसलाई निरन्तरता दिने विषयमा छलफल भएको छ”, उहाँले भन्नुभयो ।     

बैठकमा राष्ट्रपतिको निर्वाचनका बारेमा कुनै छलफल नभएको उहाँको भनाइ छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुहुन्थ्यो । –रासस