• २० असोज २०८१, आइतबार

राम्रो मूल्य पाउन जिल्लामै कफी प्रशोधन

blog

गणेश पौडेल

पर्वत, माघ २९ गते । राम्रो मूल्य पाइने भएपछि पर्वतको एक कफी उत्पादक सहकारी संस्थाले आफँै प्रशोधन गरी बजारमा धुलो कफी बिक्री गर्न सुरु गरेका छ । जिल्लामा उत्पादित कफीले राम्रो बजार पाउन नसकेपछि सहकारी आफैँले उत्पादन गरेर बिक्री सुरु गरेपछि किसानले समेत राम्रो मूल्य पाउन थालेका हुन् । 

पर्वतको अर्गानिक कफी सहकारी संस्था लिमिटेडले पर्वत कफी र धौलागिरि कफी ब्रान्डमा धुलो कफी बिक्री गर्न थालेको हो । कफीका दाना बिक्री गर्दा मूल्य पाउन नसकिने र कहिलेकाहीँ विदेशीले समेत कफीको गुणस्तर नभएको भन्दै फिर्ता पठाउँदा झन्झट हुन थालेपछि स्थानीय अर्गानिक कफीको प्रशोधन गरी धुलो बनाई बजारमा बिक्री गर्न थालेको हो । 

पर्वत जिल्लाको कफी देशकै उत्कृष्ट भएकाले युरोप, जापान र कोरियालगायतका देशमा निर्यात हुने गरेको थियो तर कहिलेकाहीँ गुणस्तरलगायतका वहानामा विदेशीले लिन आनाकानी गर्न थालेपछि आफैँले उत्पादन गर्न थालिएको सहकारी संस्थाका व्यवस्थापक भवानीप्रसाद शर्माले बताउनुभयो । 

“जिल्लाको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउन धुलो कफी बिक्री गर्न थालिएको हो । कृषकले आफूले उत्पादन गरेको फ्रेस चेरी जिल्ला कफी सहकारी सङ्घले खरिद गर्ने र विदेश निर्यात गर्ने गरेको भए पनि विभिन्न झन्झट बेहोर्नुपर्ने भएकाले आफैँ धुलो बनाएर बेच्न सुरु गरेका हौँ,” शर्माले भन्नुभयो ।

धुलो बनाएर बेच्दा स्थानीय बजारका साथै विभिन्न मेला महोत्सवमा समेत जिल्लाको कफीको प्रचार हुने भएकाले यसरी बेच्न सुरु गरिएको शर्माले बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लाको कफी पोखरा काठमाडौँका तारे होटल तथा क्याफेले खरिद गर्दै आएका छन् भने पोखरा, बागलुङ र पर्वतका सौगातगृहमा समेत राम्रो बिक्री हुने गरेको जानकारी दिनुभयो । 

पर्वतमा बर्सेनि २० मेट्रिक टनभन्दा बढी कफी उत्पादन हुने गरेको छ । कृषकले उत्पादन गरेको कफी फ्रेस चेरी तथा ‘पार्चमेन्ट’ जिल्ला कफी सहकारीले खरिद गरेर विभिन्न निर्यात गर्ने कम्पनीलाई बिक्री गर्दै आएको छ । यसबाट जिल्लामा प्रत्येक वर्ष एक करोड रुपियाँभन्दा बढी भित्रिने गरेको छ । 

यस जिल्लाका विभिन्न ठाउँमा उत्पादन हुने कफी केही वर्षअघिसम्म त्यत्तिकै खेर जाने गरेको थियो । अहिले जिल्लाका सबै स्थानीय तहका साथै बागलुङ र म्याग्दीमा उत्पादित कफी स्थानीय बजारका साथै विदेशी बजारमा समेत निर्यात हुन थालेसँगै कृषकले राम्रो मूल्यसमेत पाएका छन् । 

सहकारीका अनुसार गत वर्षमात्रै १७ टन कफी निर्यात भएको थियो । अहिले जिल्लाका ३५ वडामा कफी खेती हुँदै आएको छ । 

पछिल्लो समय जिल्लाका अधिकांश ठाउँमा नयाँ कृषकले व्यावसायिक कफी खेती सुरु गरेको भए पनि पुराना कृषकले राम्रो मूल्य पाउन नसक्दा बोटमै सुकेर जाने गरेको कृषकको भनाइ छ । बजारीकरणका लागि जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय तहहरूले समन्वय नगर्दा पनि कृषक निराश बनेका हुन् ।

उपयुक्त भौगोलिक र हावापानीका कारण पनि पर्वतमा उत्पादित कफीले राम्रो बजार पाउनुपर्ने भए पनि स्थानीय तहमा समेत प्रचारप्रसार हुन नसक्दा बजारीकरणमा समस्या भएको शर्माको भनाइ छ ।