सर्लाही समाचारदाता
सर्लाही, माघ २९ गते । सर्लाहीको बागमती नगरपालिकामा १२ वडा रहेकोमा चार ठाउँबाट मात्रै सबै वडा कार्यालय सञ्चालन हुँदा सेवाग्राहीलाई समस्या भइरहेको छ।
एकै भवनमा तीनवटा वडा कार्यालय भएपछि सेवाग्राहीलाई सेवा लिन समस्या भइरहेको हो। साविकको शङ्करपुर, राजघाट, कर्मैया र ढुङ्ग्रेखोला गरी चार गाउँ विकास समिति मिलेर बनेको बागमती नगरपालिकाका १२ वटा वडा पुरानै गाविस भवनबाट सञ्चालन भइरहेका हुन्।
साविकको शङ्करपुर गाविस अहिले बागमतीको ८, ९ र १० गरी तीनवटा वडामा विभाजन भएको छ। ती सबैको कार्यालय सोल्टी बजारमा रहेको पुरानो गाविस भवनबाट सञ्चालन भइरहेको छ। त्यस्तै साबिकको राजघाट गाविस पनि बागमतीको ५, ६ र ७ गरी तीन वडामा बाँडिएको छ। ती तीनवटै वडाको वडा कार्यालय ५ नम्बर वडास्थित पुरानो राजघाट गाविसबाटै सञ्चालनमा छन्।
साबिकको कर्मैया गाविस पनि बागमतीको ४, ११ र १२ गरी तीन वडामा विभाजन भएका छन्। त्यहाँको पनि तीनवटै वडा कार्यालय ११ नम्बर वडा कर्मैयास्थित साबिकको कर्मैया गाविसबाट सञ्चालनमा आइरहेका छन्।
साबिकको ढुङ्ग्रेखोला गाविस पनि बागमतीको १, २ र ३ गरी तीन वडामा बाँडिएका छन्। त्यहाँको पनि तीनवटै वडा कार्यालय १ नम्बर वडास्थित साबिकको ढुङ्ग्रेखोला गाविसबाट सञ्चालनमा आइरहेका छन्। बागमतीको १, ५, ८ र ११ वडाबाहेक अन्य आठ वडामा वडा कार्यालय नै छैन।
अन्य वडाका नागरिकहरू साबिकको गाविस भवनमा बनाइएका संयुक्त वडा कार्यालयबाट सेवा लिन बाध्य भएका छन्। सुगम जिल्ला भए पनि लामो समयसम्म खर्चिएर वडाको सेवा लिनुपर्ने बाध्यता रहेको वडा नं. ४ का स्थानीय दिपेश कार्कीले बताउनुभयो। वडाको सम्पूर्ण काम एक कोठाबाट भइरहेको छ जहाँ सेवा दिने कर्मचारी, सेवाग्राही र जनप्रतिनिधि अटाइनअटाई बसिरहेका छन्।
बागमती नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मोक्तानले बजेट अभाव भएकाले वडा कार्यालय स्थापना गर्न नसकेको बताउनुभएको छ।