• १३ मंसिर २०८१, बिहिबार

उखु किसानलाई इन्दुशङ्करद्वारा बयालीस करोड भुक्तानी

blog

सर्लाही समाचारदाता

सर्लाही, माघ २९ गते । सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले किसानलाई उखुको भुक्तानी दिन थालेको छ । पुस ७ गतेदेखि उखु क्रसिङ सुरु गरेको 

इन्दुशङ्करले पुस मसान्तसम्म किसानबाट खरिद गरेको उखुको भुक्तानी गरिसकेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । 

प्रबन्धक रजकले भन्नुभयो, “प्रतिक्विन्टल ६१० रुपियाँमध्ये उद्योगले ५४० र सरकारले अनुदानबापत ७० रुपियाँ भुक्तानी गर्नुपर्ने हो, हामीले तत्कालका लागि पेस्कीस्वरूप ५२० रुपियाँका दरले भुक्तानी दिइरहेका छौँ ।” सरकारले यो वर्षका लागि उखुको समर्थन मूल्य ६१० रुपियाँ निर्धारण गरेको छ । प्रबन्धक रजकका अनुसार उद्योगले किसानलाई आठ लाख ५० हजार क्विन्टल उखुको ४२ करोड १५ लाख रुपियाँ भुक्तानी गरिसकेको छ । 

सर्लाहीमा रहेका इन्दुशङ्कर, महालक्ष्मी र अन्नपूर्ण चिनी उद्योगमध्ये इन्दुशङ्करले बर्सेनि किसानलाई बेलैमा भुक्तानी दिँदै आइरहेको छ । उद्योगले यो वर्ष चैत पहिलो सातासम्म उखु क्रसिङ गर्ने तयारी गरेको छ । 

इन्दुशङ्करबाट भुक्तानी लिन खासै समस्या नरहेको किसानले बताएका छन् । उखु किसानसमेत रहनुभएका गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले महालक्ष्मी चिनी उद्योगले सुरुमा एक साताको भुक्तानी दिएको र अब थप भुक्तानी गर्ने बताइरहेको जानकारी दिनुभयो । किसानको बेलैमा भुक्तानी दिन उद्योगलाई घच्घच्याइरहेको यादवले बताउनुभयो । 

यस जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग भने केही दिनअघि देखि मात्रै सञ्चालनमा आएको छ । यो उद्योगले किसानलाई अघिल्ला वर्षहरूकै भुक्तानी दिन बाँकी छ ।