• २० असोज २०८१, आइतबार

खडेरीले सुक्न थाले हिउँदे बाली

blog

प्रेमराज सिम्खडा

कालीकोट, माघ २९ गते ।  लामो समयदेखि वर्षा नहुँदा कालीकोट जिल्लामा हिउँदे बाली सुक्न थालेका छन् । गत माघ ७ गते हल्का वर्षा भए पनि बालीका लागि पर्याप्त भएको थिएन । त्यसअघि र पछि पानी नपरेका कारण तरकारी, गहुँ, जौलगायतका हिउँदे बाली सुक्न थालेका हुन् । 

रास्कोट नगरपालिका–८ का देवमणि धमलाले असोजयता पर्याप्त पानी नपरेको बताउनुभयो । उहाँले गत माघ ७ गते हल्का परेको पानीले हिउँदे बालीलाई पर्याप्त नभएको बताउनुभयो । 

उहाँले सिँचाइको सुविधा भएका खेत पनि समयमा कुलो निर्माण नभएका कारणले सुक्न थालेको सुनाउनुभयो । नगरपालिकासँगै प्रदेश सरकार र विभिन्न सहयोगी संस्थाबाट निर्माण गर्न सुरु भएका सिँचाइ कुलो समयमा निर्माण नहुँदा किसानलाई थप समस्या भएको छ । माघमा उच्च हिमाली क्षेत्रमा हिमपात भएको थियो तर तल्लो क्षेत्रमा पर्याप्त वर्षा नभएकाले बाली सुक्दै गएको किसानको भनाइ छ । 

पानी नपरेका कारण कालीकोट जिल्लाका सबै स्थानीय तहका किसान चिन्तित बनेका छन् । खाँडाचक्र नगरपालिका–३ का भक्तिप्रसाद पाण्डेले सिँचाइ अभाव भइरहने क्षेत्रमा लगाएको गहुँ र जौ पूरै सुक्न थालेको सुनाउनुभयो । गत असोजमा आएको पानी परेपछि छरिएका गहुँ, जौ पसाउन थालेको थियो । अहिले त्यो पनि सुक्न थालेको उहाँले बताउनुभयो ।