• १२ मंसिर २०८१, बुधबार

भेरी पुल सात वर्षदेखि अलपत्र

blog

जाजरकोट समाचारदाता

जाजरकोट, माघ २८ गते । मृत सञ्जीवनी गाल्बा जेभी वसुन्धरा काठमाडौँले भेरी नदीको पुल सात वर्षदेखि अलपत्र छाडेको छ । जाजरकोट नलगाड नगरपालिका–१० र रुकुमपश्चिम आठबीसकोट–५, स्यालाखदी जोडिने सो पुल सात वर्षदेखि अलपत्र छाडिए पनि ठेकेदार कम्पनीमाथि कुनै कारबाही हुन सकेको छैन । 

ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालय चौरजहारीबीच २०७३ असार ३१ गते निर्माण सम्झौता भएको थियो । पछिल्लो पटक थपिएको म्याद २०७७ पुस ३० गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म काम अघि बढेको छैन । डिभिजन प्रमुख आशुतोष कर्णले सडक डिभिजन चौरजहारीले २०७९ कात्तिक २९ गते ठेक्का किन नतोड्ने भन्दै अन्तिमपत्र पठाएको बताउनुभयो ।

मौखिक तथा लिखित रूपमा पटक–पटक ताकेता गर्दा पनि जेभीले सम्झौताअनुसारको काम नगर्दा आफूहरू हैरान भएर अन्तिम पटक पत्र लेखेको प्रमुख कर्णको भनाइ छ । डिभिजन प्रमुख आशुतोष कर्णले मृत सञ्जीवनी गाल्बा जेभी वसुन्धरा काठमाडौँको नामबाट आफूले काम गर्ने भन्दै खड्का कृष्ण कन्स्ट्रक्सन प्रालि जाजरकोटले ग्यारेन्टीसमेत राखी काम सुरु गरेको जानकारी दिनुभयो । तर, सम्झौता मितिभन्दा बढी समय लगाएको र पेस्की रकमसमेत कार्यालयले फिर्ता लिएपछि काम नगर्ने भनी आफूले जानकारी गराएर काम छोडेका खड्का–कृष्ण कन्स्ट्रक्सनले जानकारी दिएको छ । यसरी आफ्नो ठाउँमा आवतजावतका लागि पुल बन्ने खबरले खुसी भएका स्थानीय हालसम्म पुल निर्माण नहुँदा निराश भएका छन् । पछिल्लो समयमा जिल्लाका विकास निर्माणका अधिकांश ठूला योजनामा काम लिएर समयमै सम्पन्न नगर्ने समस्या देखिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्री विकास निर्माणका योजना समयमै हुन नसकेकाले स्थानीय बासिन्दालाई जिल्लामा विकास नभएको अनुभूति भइरहेको बताउनुहुन्छ । जिल्लाभर सम्झौता अवधि सकिएर पनि कार्य सम्पन्न हुन नसकेका योजनाको सङ्कलन गरी आवश्यक प्रक्रिया अघि बढाउन लागेको प्रमुख खत्रीको भनाइ छ ।