• १७ कात्तिक २०८१, शनिबार

तीन पुस्ता देखि अझै हालिया, सुविधा जति बलियाकै गोजीमा

blog

पैँसट्ठी वर्ष सम्म अरूकै घरको गोठमा बास बस्नका लागि सहारा लिँदै आएको स्वामिकार्तिक गाउँपालिका –५ जेराका मूल विकको परिवार । तस्बिर: शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, माघ २८ गते । तीन पुस्ता देखि हालिया बनेकाहरू अझै पनि हलिया नै छन् भन्दा अनौठो लाग्न सक्छ । बाजुरा पूर्व उत्तर क्षेत्र स्वामिकार्तिक गाउँपालिका वडा नं. –५ जेराका मूल विकको यथार्थ जीवन हो । उहाँ लगायत बाजुराका एक हजार ६ सय बढी हालिया परिवारको अवस्था यस्तै छ । 

६५ वर्षीय विक भन्नुहुन्छ, म पनि अहिले अर्कैको घरमा हालिया बसेर परिवार पालिरहेको छु तर अव मेरो पछिल्लो पुस्ताले पनि यस्तो गर्नुपर्ने बाध्यता कहिले सम्म, हाम्रो लागि राज्य छैन ? । उहाँ भन्नुहुन्छ, आफ्नो नाममा न घर छ, नत जमिन नै छ, । अहिले न जमिन किन्न सकियो त घरबारको व्यवस्था गर्न सकियो । जमिन नहुँदा घर बासको व्यवस्था पनि गर्न सकिएन । साहुको घरमा हालिया बसेर परिवार पालिरहेको छु । उहाँ भन्नुहुन्छ, साहुको गोठमा चिसोका रात काटिरहेको छु । 

अरूकै घरमा हालिया बसेर परिवार पालि रहेको छु, बिहान बेलुका दिनभर अर्कैको घरमा काम गर्छु । काम गरेपछि साहुले गाँस दिन्छन् । काम नगरे भोकै बस्नु पर्छ विकले दुखेसो पोख्दै भन्नुभयो । विकले तीन छोरा, तीन छोरी र श्रीमती गरी ८ जनाको परिवार यसरी नै गुजारा गर्दै आउनु भएको छ । खानलाई बोनीबुतो गरे पनि बासका लागि पनि घर नभएपछि पीडामा छन् विक परिवार । 

उमेर ढल्कियो कलिला छोरा, छोरी बिजोग हुने भन्दै उहाँ राज्यले सानो बस्ने बासको व्यवस्था गरिदिन माग गर्नुहुन्छ । मूल विककी छोरी पिप्ला विक भन्नुहुन्छ, आफूलाई पढ्ने मन छ तर के गर्ने सबै परिवारले अरूकै घरमा काम गर्नु पर्छ । काम नगरेपछि साहुले खान दिँदैनन् । साहुको काम गर्दा गर्दै पढाइ पनि कमजोर हुँदै गएको बताउनुभयो ।

उहाँले, म अहिले बल्लतल्ल कक्षा ९ मा पढ्छु । विद्यालयमा जान पाउँदैन तर पनि घरमै पढेर पनि परीक्षा दिने गरेको बताउनुहुन्छ । पढाइ त त्यसै भयो अब मलाई कसैको सहयोग मिल्यो भने जीवनका लागि जिउने केही सीप सिक्ने रहर भएको विकले भन्नुभयो ।

जिल्लाको पूर्व उत्तर क्षेत्रमा रहेको हिमाली, बूढी नन्दा,स्वामिकार्तिक, जगनाथ र बूढी गङ्गा नगरपालिकाको बह्रतोला लगायतका गाउँमा एक हजार ६३५ भन्दा बढी हालिया घरपरिवार छन् ।

बाजुराका यी हालिया परिवारलाई व्यवस्थित गर्न गाउँमा विभिन्न कार्यक्रम पनि लागु छन् । ती नै हालियाको नाममा बाजुरा करोडौँ रुपियाँ खर्च गरिएको छ । हालियाका लागि भनेर जिल्लामा विभिन्न आवासको कार्यक्रम समेत सुचारु भएका छन् तर प्रभावकारी नभएको आरोप छ । 

हालियाका नाममा छुटिने बजेट जहिल्यै बलियाहरूको पोल्टामा पर्ने गरेको छ । हाम्रा लागि भने ती रुपियाँ हात्ती आयो हात्ती आयो फुस भने झैँ भएको मूल विकले बताउनुभयो ।

उहाँसँगै गाउँकै  पविन्द्र र धननाथ शाहीको घरमा काम गरेर परिवार पाल्दै आउनु भएको छ । यो समस्या त मूल विककी छोरी पील्पा विकको मात्र होइन । यो समस्या त बाजुराका एक हजार ६३५ भन्दा बढी हालिया घरपरिवारका झन्डै दुई हजार भन्दा बढी बालबालिकाको पीडा पनि उस्तै हो ।

सरकारकी तथा गैरसरकारी संस्थाले हालिया मुक्तिको नारा त ल्यायो तर सुविधा भने न दिएको हालिया परिवार बताउँछन् ।

पुस्तौँ देखि अहिले सम्म साहुको घरमा बसेर पेट पाल्दै आएका थियौ । संस्थाले लगाएको त्यो नाराको डरले साहु घरबाट निकाल्दै गए । यसरी साहुले घरबाट निकाल्दै गएपछि अहिले हामी नत घर नत घाटका भयौँ हालिया परिवारले दुखेसो सुनाउँदै भन्नुभयो । 

स्वामिकार्तिक जगनाथ गाउँपालिका लगायतका विभिन्न ठाउँमा बस्दै आएका हजारौँ हालिया परिवारका सयौँ भन्दा बढी त आमा बुवा नै नभएका बालबालिका छन् । ती अनाथ बालबालिकाहरूको  अहिले गाउँमा निकै बिचल्ली भएको छ । न त उनीहरूले राम्रो पढाइ गर्न पाएका छन् । नत उनीहरूलाई राम्रो सँग बस्न खानको सुविधा मिलेको छ । 

बुवा आमा गुमाएको यी बालबालिकाहरूको पालन पोषण तथा शिक्षा स्वास्थ्यमा सहयोग गरिदिनका लागि अहिले विभिन्न निकायमा पहल गर्दै आएको सहिद प्रतिष्ठान बाजुराका अध्यक्ष विनीता विकले बताउनुभयो ।

नेपाल सरकारले एक हालिया परिवार वर्गका लागि तीन लाख मर्मत का लागि एक एक लाख मात्र  दिएकोले उनीहरूको व्यवस्था गर्न सकस भएको मुक्त हालिया अधिकार मञ्चका अध्यक्ष गोरख सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो,सरकारले हालियाको परिचय पत्र दिए पनि मुक्त हालियाको कार्यविधिको अनुसार सेवा सुविधा नपाएको बताउनुभयो ।

सरकारले हालिया परिवारलाई चार वर्गमा वर्गीकरण गरिएको छ । वर्गीकरण गरेअनुसार जग्गा नभएकोलाई क वर्गलाई चार लाख जग्गा भएको घर नभएकोलाई  ख वर्गलाई तीन लाख जग्गा र घर भएको तर आर्थिक स्थिति कमजोर भएकोलाई ग र घ  वर्गलाई एक लाख घर बासका लागि सरकारले पैसा दिने गरेको अध्यक्ष सार्कीले बताउनुभयो ।