• १२ साउन २०८१, शनिबार

संघीय संसद् भवन परिसरका झलकहरू (फोटो फिचर)

blog

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको स्वागत अभिवादन । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन सुरु भएको छ । राष्ट्रपति भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा संयुक्त बैठकलाई सम्बोधन गरिरहनुभएको छ ।

राष्ट्रपति भण्डारीलाई यसअघि संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत अभिवादन गर्नुभएको थियो ।


त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो । बैठकको प्रारम्भमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ले सम्बोधनको प्रति राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

सम्बोधन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिहरू उपस्थित हुनुहुन्छ ।

नेपालको संविधानमा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।


संविधानको धारा, ९५ को उपधारा, २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ ।

राष्ट्रपतिको सम्बोधनको प्रति प्रधानमन्त्रीले आजै बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नुहुनेछ । दुवै सदनले राष्ट्रपतिको सम्मानमा धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची छ । राष्ट्रपतिको सम्बोधन कार्यक्रमलाई भव्य तुल्याउन संसद् भवन परिसरमा झण्डा एवम् पताकाले सिङ्गारिएको छ ।