• १६ भदौ २०८१, आइतबार

राष्ट्रपति भण्डारी सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै (प्रत्यक्ष प्रसारण)

blog

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई  अहिले सम्बोधन गर्दै हुनुहुन्छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका प्रतिनिधि सभाको बैठक कक्षमा बसेको संयुक्त बैठकलाई राष्ट्रपतिले संविधानको धारा ९५ बमोजिम सम्बोधन गर्नुभएको हो ।

राष्ट्रपतिले गर्नुभएको सम्बोधन प्रतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्नुहुनेछ । राष्ट्रपतिले सम्बोधन गरे लगत्तै आजै दुवै सदनको अलग–अलग बैठक बस्दैछ । 

त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।


संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

यस्तै, सोही धाराको उपधारा २ मा  ‘राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन हाल जारी छ । पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लाग्नुभएको हो ।