• १४ मंसिर २०८१, शुक्रबार

मन्त्री मोदी र इयु राजदूत नोनाबीच भेटवार्ता

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ २६ गते । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी थारु र युरोपेली युनियन डेलिगेशनका राजदूत नोना डेप्रेजबीच आज भेटवार्ता भएको छ । मन्त्री मोदीसँग शिष्टाचार भेट गर्न राजदूत डेप्रेज सिंहदरबारस्थित मन्त्रालय पुग्नुभएको थियो ।  

मन्त्रालयमा स्वागत गर्दै मन्त्री मोदीले युरोपेली युनियनले नेपाललाई गर्दै आएको सहयोग र सहकार्यको सराहना गर्नुभयो । आगामी दिनमा अझ सहयोग बढेर जाने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपालले संविधान जारी गर्दा, महाभूकम्प वा कोरोनाको कहरमा भोग्नुपरेका सङ्कटपूर्ण क्षणहरुमा युरोपेली युनियनको सहयोगको उहाँले सो अवसरमा प्रशंसा गर्नुभयो । 

सरकारले संसदको जारी अधिवेशनमा सङ्घीय निजामती ऐन ल्याउन आफ्नै नेतृत्वमा तीव्र ढङ्गले गृहकार्य गरिरहेको चर्चा गर्दै मन्त्री मोदीले भन्नुभयो, “नेपालको सामाजिक आर्थिक रुपान्तरण, कोरोनापछिको पुनरुत्थानको प्रयासमा नेपाल सरकार द्विपक्षीय र बहुपक्षीय विकास साझेदारका साथै युरोपेली युनियनको निरन्तर सहयोगको अपेक्षा गर्दछ ।”

नेपाल अल्पविकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रको सूचीमा सन् २०२६ सम्ममा स्तरोन्नति हुन प्रयासरत रहेको उहाँले चर्चा गर्नुभयो । 

मन्त्री मोदीले आफ्नो मन्त्रालयले स्थानीय आर्थिक विकासलाई प्राथामिकता दिएको बताउँदै नेपाल सरकारको मानव संसाधनको उपयोगिता र व्यवस्थापन गर्नका लागि आवश्यक योजना र तयारी गरिरहेको बताउनुभयो ।  

युरोपेली युनियनकी राजदूत डेप्रेजले आगामी दिनमा नेपाल र युरोपेली युनियनबीचको सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्नुभयो । युनियनले नेपालमा संविधान निर्माण लगायतका महत्वपूर्ण अवस्थामा सहयोग गर्दैआएको उल्लेख गर्दै सङ्घीयता कार्यान्वयनका लागि पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । 

नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गराउन समेत युरोपेली युनियन सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि सामान्य प्रशासन मन्त्रालयलाई गरिरहेको सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।