गोरखापत्र अनलाइन
काठमाडौं, माघ २६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टर्की र सिरियाको सीमाक्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्प र बुधबार दिउँसोसम्म गएका ३१२ भन्दा बढी पराकम्पनले क्षति गर्दा घाइते भएकाहरुको उद्धार, बसोबासको व्यवस्था तथा स्वास्थ्यउपचारको उचित व्यवस्था मिलाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।
आज बिहीबार अध्यक्ष ओलीले पार्टीको तर्फबाट सो आग्रह गर्नुभएको हो । दुई देशमा १५ हजारभन्दा बढीको ज्यान गएको र ठूलो सङ्ख्यामा भौतिक पूर्वाधार नष्ट भएको चर्चा गर्दै अध्यक्ष ओलीले हजारौं परिवार घरवारबिहीन भएको अवस्थाप्रति पार्टीको तर्फबाट दुःख व्यक्त गर्नुभएको छ । माघ २३ गते सोमबार बिहान त्यहाँ भूकम्प गएको थियो ।
नेपाल सरकारले विनासकारी भूकम्पबाट प्रभावित टर्कीमा मेडिकल रेस्पोन्स टिमसहित न्यानो लत्ताकपडा र अत्यावश्यक राहत सामग्री पठाउने स्वागतयोग्य निर्णय गरेको उहाँले चर्चा गर्नुभएको छ । “राहत तथा उद्दारमा समयानुकूल शीघ्र प्रतिकार्यको निकै महत्व हुने भएकाले उक्त निर्णय यथाशीघ्र कार्यान्वयनका लागि एमाले हार्दिक अपिल गर्दछ” उहाँले भन्नुभएको छ ।
प्राकृतिक महाविपत्तिबाट प्रभावित टर्की र सिरियाका आमनागरिकलाई तत्कालका लागि विपद् प्रतिकार्य, खोज उद्धार, प्राथमिक उपचार र राहत वितरणमा जुट्न र आवश्यकता अनुसार राहत र पुनःस्थापनामा सहयोग गर्न सम्बद्ध सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायलाई उहाँले आग्रह गर्नुभएको छ ।