• १४ मंसिर २०८१, शुक्रबार

एमालेले सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्ने : ११ कार्यादेश तय

blog

नेकपा (एमाले) को सचिवालय बैठक । तस्बिर : सुजन गुरुङ

काठमाडौं, माघ २६ गते। नेकपा (एमाले) को सचिवालय बैठकले सात वटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ। एमालेले आगामी फागुन र चैत दुई महिनामा यो अभियान सञ्चालन गर्ने भएको हो। एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मिसन ग्रासहुड अनुसार पार्टीलाई जरैदेखि मजबुत गर्ने उद्देश्यले सञ्चालन हुने सो अभियानमा देशका विभिन्न पालिकामा केन्द्रीय सदस्य खटिनु हुने बताउनुभयो। 

केन्द्रीय कार्यालयमा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “सम्पूर्ण केन्द्रीय सदस्य विभिन्न पालिकामा खटिनुहुनेछ। उहाँहरूलाई ११ वटा काम तोकिएको छ। पार्टीको सदस्यता नवीकरण गर्ने, पार्टी प्रशिक्षण, स्थानीय जनप्रतिनिधि र पार्टीका प्रतिनिधिबीच सम्बन्ध सुव्यवस्थित गर्ने, विशेष योगदान गरेका साथीलाई सम्मान गर्ने, पार्टीका बारेमा राय, सुझाव लिने लगायतका ११ वटा कार्यादेश (टिओआर) तोकेर”, प्रत्येकलाई सरदर तीन वटा पालिकाको विधिवत् थालनी फागुन ५ गतेबाट सातै वटा प्रदेश अभिमुखीकरण कार्यक्रम सुरु हुने जानकारी उहाँले दिनुभयो।

अध्यक्ष केपी ओलीले काठमाडौंबाट भर्चुअल बैठकबाट सुरु हुने यस अभियानसँगै पार्टी नयाँ गतिका साथ अघि बढ्ने विश्वास रहेको उहाँले बताउनुभयो।  यसैगरी, प्रदेश १ को इन्चार्ज देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा रहनुभएको र सङ्गठनात्मक जिम्मेवारी त्याग गर्नुभएकाले उक्त जिम्मेवारी स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई दिइएको छ। धनुषा जिल्लाका इन्चार्ज रामचन्द्र मण्डल मधेश प्रदेशको सभामुख हुनुभएकाले सो जिम्मेवारी शिला यादवलाईलाई दिइएको छ। 

अर्थ योजना विभागको प्रमुख घनश्याम भुसालले पार्टी परित्याग गर्नुभएकाले यसको जिम्मेवारी डा. बिन्दा पाण्डेलाई र अपाङ्गता क्षेत्रको जिम्मेवारी पार्वत गुरुङलाई तोकिएको ज्ञवालीले बताउनुभयो। एमालेको अपाङ्गताको क्षेत्रको जिम्मेवारी सम्हाल्दै आउनुभएका बालकृष्ण ढुङ्गेलको निधन भएकोले सो जिम्मेवारी हेरफेर गरिएको हो। 

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्नुपर्ने स्थितिबारे सञ्चारकर्मीको जिज्ञासामा ज्ञवालीले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता पुनः प्राप्तिका सन्दर्भमा प्रक्रियागत त्रुटि भएको बताउनुभयो। 

“पुस १० गते नयाँ कोर्स निर्माण गरिरहँदा जुन ढङ्गले शक्तिको बाँडफाँड गरेका थियौँ सो अनुरूप स्वतन्त्र पार्टीलाई दिइनुपर्छ भन्ने लाग्छ। त्यसो गरेर भए पनि सरकारलाई होल्ड गरिराख्नुपर्थ्यो त्यसमा असमझदारी देखियो”, सरकारको समर्थन कायम राखेकाले त्यो विश्वास कायमै राख्ने र उपयुक्त वातावरण बनाएर रास्वपालाई सरकारमा फर्काउने कोसिस जारी रहेको उहाँको भनाइ छ। 

यस विषयमा भोलि शुक्रबार बस्ने सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल हुने उहाँले बताउनुभयो।