सिराज खान
नेपालगञ्ज, माघ २६ गते । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सभापति स्वर्गीय सुशील कोइरालाको ७ औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बाँकेले बिहीबार नेपालगञ्जमा बृहत् रक्तदान कार्यक्रम गरेको छ ।
नेपालगञ्जमा केही समय यता गम्भीर प्रकारका बिरामीका लागि रगतको अभाव देखिएकाले सो अभाव पूरा गर्ने उद्देश्यले संविधानका पिता स्वर्गीय कोइरालाको स्मृतिमा रक्तदान कार्यक्रम राखिएको कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो ।
उहाँले प्रजातन्त्रको संरक्षण र गणतन्त्रको स्थापनामा अहम् भूमिका खेल्नु भएका स्वर्गीय कोइरालालाई स्मरण गर्दै रक्तदानलगायत उहाँले गर्नुभएका महत्त्वपूर्ण कामको पनि चर्चा परिचर्चा गरिएको बताउनुभयो ।
रक्तदान कार्यक्रमको शुभारम्भमा बोल्दै पूर्वमन्त्री तथा कांग्रेस नेता गजेन्द्र हमालले स्वर्गीय कोइरालाको जनता र प्रजातन्त्रप्रतिको अटुट समर्पण तथा सादगी जीवनशैली सबैको लागि प्रेरणादायी रहेको बताउनुभयो ।
स्वर्गीय कोइरालाले मुलुकको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै पूर्वमन्त्री हमालले संविधान जारी गर्न लिएको चट्टानी अडान सधैँ नेपालीले सम्झिरहने उल्लेख गर्नुभयो ।
कांग्रेस बाँकेका सभापति गौडेलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभाका सांसद बादशाह कुर्मी, बाँके कांग्रेसका पूर्व सभापतिहरू किरण कोइराला र सनत रेग्मीलगायतले स्वर्गीय कोइरालाको योगदानबारे चर्चा गर्नुभएको थियो ।
स्वर्गीय कोइरालाले राजनीति, समाजसेवा र मानवीय सेवामा पुर्याएको योगदानलाई स्मरण गर्दै कांग्रेस बाँकेले उहाँको सम्झनामा रक्तदान कार्यक्रम गरेको बाँके कांग्रेसका सचिव सुधांशु कोइरालाले बताउनुभयो । कार्यक्रममा ६५ जनाले रक्तदान गर्नुभएको रक्त सञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ ।