• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिम प्रदेश सभाको बैठक ४ बजेलाई सर्‍यो

blog

सुदूरपश्चिम प्रदेश सभा भवन । फाइल तस्बिर

अविनाश चौधरी

धनगढी, माघ २६ गते। सुदूरपश्चिम प्रदेश सभाको बैठक आज अपराह्न ४ बजे बोलाइएको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिदैं हुनुहुन्छ। यसअघि, दिउँसो १ बजे बैठक बोलाइएको बैठक स्थगित गरेर तीन घण्टा पछाडि सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। 

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो। यसरी दुई वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ। कानुन अनुसार प्राप्त समयसीमाको आज अन्तिम दिन उहाँले विश्वासको मत लिदैं हुनुहुन्छ। 

५३ सदस्यीय प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक छ। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरी २९ जनाको समर्थनबाट उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो। तर, टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछिमात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको अडानले मुख्यमन्त्री समस्यामा हुनुहुन्छ। 

प्रदेश सभामा नेपाली कांग्रेसबाट १९, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट चार र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको उपस्थिति छ।