• १३ असोज २०८१, आइतबार

खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउनु आवश्यक छ : सभामुख घिमिरे

blog

१३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बाेधन गर्नुहुँदै सभामुख देवराज घिमिरे।

काठमाडौं, माघ २६ गते। सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउनसके राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने बताउनुभएको छ। बिहीबार सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपालद्वारा आयोजित १३ औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो। 

उहाँले खेलकुदले शारीरिक, मानसिक विकास मात्रै नभई सहकार्यलाई पनि बढाउन सहयोग गर्ने बताउनुभयो। उहाँले पहिला शारीरिक श्रमले शरीरलाई तन्दुरुस्त बनाउने गरे पनि मानिस अहिले मानसिक काममा नै बढी केन्द्रित हुन पुगेकाले खेलकुदकै माध्यमबाट शरीरलाई तन्दुरुस्त राख्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले सार्वजनिक संस्थानले गर्ने खेल क्षेत्रका कार्यक्रमलाई तल्लो स्तरबाट नै अघि बढाउन सके खेलकुदमा युवाको आकर्षण बढ्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘खेलकुद हाम्रो शारीरिक, मानसिक विकास मात्रै होइन, विभिन्न इभेन्टमा सहकार्यको माध्यम पनि हो। राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने माध्यम र शरीरलाई स्वास्थ्य बनाउन चाहिन्छ। हाम्रो समाज विकासमा हिजोको शारीरिक श्रमले शरीरलाई तन्दुरुस्त बनाउँथ्यो भने अहिले सकी नसकी त्यसबाट टाढा हुने र मानसिक काममा नै लाग्नुपर्ने र सहरिया परिवेशमा त अझ महत्त्व बढेको छ।’’

सभामुख घिमिरेले खेलकुदलाई सुव्यवस्थित बनाएर खेल क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउँदै खेलकुदले देशमा आत्मीयता र गौरव बढाउने बताउनुभयो। उहाँले नेपालले खेलकुदमा प्रगति गरिरहे पनि पर्याप्त नभएको बताउनुभयो।