• १२ साउन २०८१, शनिबार

सरस्वती वन्दना

blog

कमल कोइराला 

हाँसमा बसी लिएकी हुन्छिन् पुस्तक साथमा

मधुर ध्वनि निकाल्ने वीणा छ अर्काे हातमा ।

वस्त्र छ सेतो पद्मासनमा चिटिक्क खुलेकी

ज्ञानको रश्मि छरेर आफैँ विद्यामा झुलेकी ।।


विद्याकी खानी भनेर हामी प्रार्थना गर्दछौँ 

पाएर तिम्रै ज्ञानको ज्योति मस्तिष्क भर्दछौँ ।

पीयूष–धारा बगाई ज्ञान सिञ्चन गर्दछ्यौ

प्रदीप्त ज्योति बालेर नित्य प्रकाश छर्दछ्यौ ।।


भविष्य हाम्रो उज्ज्वल पार्ने चेतना छरिद्यौ

लगनशील विद्यार्थी बन्छौँ दिमाग भरिद्यौ ।

अमृततुल्य ज्ञानका धारा सहस्रौँ बगाई

भविष्य हाम्रो उज्ज्वल पार्छाैं अज्ञान भगाई ।।


पढेर धेरै पाएको ज्ञान सर्वत्र बाँड्दछौँ

लिएर ज्योति उज्यालो आफैँ अँध्यारो काट्दछौँ ।

साथी हौ हाम्री तिमी नै सच्चा सुख र दुःखमा

मधुर वाणी बोल्नेछु तिमी बसिद्यौ मुखमा ।।


शारदा देवी भनेर पनि चिन्दछ लोकले

सम्झना तिमै्र आउँछ जैल्यै ज्ञानको भोकले ।

बिहान–साँझ विद्यार्थी तिम्रै गर्दछन् सम्झना 

श्रद्धाका पुष्प हातमा लिई गर्दछौँ वन्दना ।।