• १२ मंसिर २०८१, बुधबार

विद्यालय भवनको प्रबलीकरण हुँदै

blog

दोलखा समाचारदाता

दोलखा, माघ २६ गते । दोलखाको वैतेश्वर गाउँपालिका–४ मैनापोखरीमा रहेको हनुमन्तेश्वर माध्यमिक विद्यालयका सातवटा भवन प्रबलीकरण गरिने भएको छ। गत आठ वर्षअघि २०७२ सालमा गएको विनाशकारी भूकम्पले हल्लाएर जीर्ण बनेका विद्यालयका यी भवनको प्रबलीकरण भइरहेको विद्यालयका प्रधानाध्यापक भरत दहालले बताउनुभयो। 

उहाँका अनुसार जिल्लाकै उत्कृष्ट र नमुना यो विद्यालयको एसियाली विकास बैङ्कको तीन करोड २१ लाख रुपियाँमा श्री शर्मा–खानी जेभी काठमाडौँले ठेक्कामार्फत प्रबलीकरण भइरहेको छ। होस्टेलसहितको तीनवटा पक्की भवन र चारवटा ब्लकको ट्रस्ट प्रबलीकरण भइरहेको हो। २०७६ सालमै २४ कोठे दुईवटा भवन पनि एसियाली विकास बैङ्कले पुनर्निर्माण गरिदिएको थियो। 

विद्यालयमा बालकक्षामा नर्सरी, एलकेजी र युकेजी गरी तीनवटा कक्षा सञ्चालनमा रहेका छन्। ६ कक्षादेखि ८ सम्म दुई सेक्सन र नौ र १० मा चार/ चार सेक्सन रहेका छन्। प्रधानाध्यापक दाहालले भन्नुभयो, “२२ वटा कक्षा सञ्चालन हुन्छन् भने प्रबलीकरण नहुँदा नयाँ भवनका २४ कोठामा सबै पढाइ र शिक्षक स्टाफको व्यवस्थापन गर्न साह्रै कठिन भइरहेको छ। कक्षाकोठा अभावमा कक्षा ११ र १२ बिहान सञ्चालन गर्नुपरेको छ। २० वटा कोठा प्रबलीकरणपछि पठनपाठनमा सहज हुनेछ।”

अभिभावकको अङ्ग्रेजीमोह सम्बोधन गर्न बालकक्षालाई नर्सरी, एलकेजी र युकेजी सञ्चालन गरिएको छ। बालकक्षादेखि कक्षा ५ सम्म पूर्ण अङ्ग्रेजी माध्यमबाट पढाइने गरिएको उहाँले जानकारी दिनुभयो।