• ८ जेठ २०८१, मङ्गलबार

मोलुङ हाइड्रोको आइपिओ बाँडफाँट

blog

शेरबहादुर राई

ओखलढुङ्गा, माघ २५ गते । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयवासीको लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको छ । कम्पनीले प्रतिशेयर एक सय रुपियाँ अङ्कित दरको आठ लाख दुई हजार ५०० कित्ता शेयर आयोजना प्रभावित ओखलढुङ्गा जिल्लाका तीन वटा स्थानीय तहका लागि पुस १९ देखि माघ १५ गते सम्म विक्री गरेको थियो ।

आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार उक्त शेयरमा पाँच हजार छ सय ५३ जना आवेदकबाट जम्मा नौ लाख ७३ हजार २५० कित्ताको लागि आवेदन प्राप्त भएको थियो । सोही आवेदनको आधारमा शेयर बाँडफाँट गरिएको कम्पनीले जनएको छ । 

आयोजना सञ्चालन भएको स्थान मोलुङ गाउँपालिका साथै सिद्धिचरण नगरपालिका र सुनकोसी गाउँपालिकाका स्थानीयवासीका लागि शेयर निष्कासन गरिएको हो । मोलुङ्ग गाउँपालिकाको वडा १ देखि ८ सम्मका बासिन्दाका लागि बाँडफाँट गर्दा कूल एक हजार ९२७ जना आवेदकबाट चार लाख २२ हजार ४५० कित्ता शेयरको लागि रीतपूर्वक आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।

१० कित्तादेखि ८०० कित्ता माग गर्ने एक हजार ८०७ जना आवेदकलाई माग बमोजिम र ९०० कित्तादेखि एक हजार कित्ता माग गर्ने १२० जना आवेदकलाई ८२० कित्ताका दरले शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, सुनकोसी गाउँपालिका १ देखि १० सम्मका बासिन्दाका लागि बाँडफाँट गर्दा कूल एक हजार ५८१ जना आवेदकमार्फत दुई लाख ५२ हजार ८९० कित्ता शेयरका लागि रीतपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्तादेखि ३३० कित्ता माग गर्ने एक हजार ४०७ जना आवेदकलाई माग बमोजिम, ३५० कित्तादेखि १००० कित्तासम्म माग गर्ने १७४ आवेदकलाई ३३० कित्ता शेयर बाँडफाँट गरिएको छ ।

साथै, बाँकी रहेको ८८५ कित्ता शेयर ३५० कित्तादेखि १००० कित्तासम्म माग गर्ने १७४ जना आवेदकलाई गोला प्रथाबाट थप १०–१० कित्ताका दरले ८८ जना सफल आवेदकलाई ८८० कित्तासाथै बाँकी बचेको पाँच कित्ता शेयर पुनः ३५० कित्तादेखि १००० कित्तासम्म माग गर्ने १७४ जना गोलाप्रथाबाट थप एक–एक कित्ताका दरले पाँच जना सफल आवेदकलाई बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।