बागलुङ समाचारदाता
बागलुङ, माघ २५ गते । बागलुङ जिल्लामा कार्यरत नेपाल प्रहरी कर्मचारीलाई आरामदायी विस्ताराका लागि ‘एक प्रहरी, एक म्याट्रेस’ वितरण गरिएको छ। यस जिल्लाके १० स्थानीय तहको सहकार्यमा एक प्रहरी कर्मचारीलाई एक आरामदायी विस्तारा उपलब्ध गराइएको छ।
सो अभियानअन्तर्गत पहिलो चरणमा ३८९ थान म्याट्रेस वितरण गरिएको हो। प्रहरी कर्मचारीलाई आरामदायी सुताइमा सहयोग पु-याउने उद्देश्यले म्याट्रेस वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो।
प्रहरी कार्यालयहरूमा कतै खाट नहुने त कतै खाट भए पनि बिस्तारा राम्रो नहुने अवस्था देखिएकाले सुरुमा खाटको व्यवस्था गरी बिस्तरा दिने योजना बनाएको ज्ञवालीले बताउनुभयो। म्याट्रेस पाएपछि चिसो मौसममा पनि प्रहरी कर्मचारी आरामदायी तरिकाले सुत्न पाउने भएका छन्।
पहिलो चरणको अभियानमा बागलुङ नगरपालिकाले एक सय, गलकोट नगरपालिकाले ४५, ढोरपाटन नगरपालिकाले २५, जैमिनी नगरपालिकाले ३०, बडीगाड गाउँपालिकाले ३५, काठेखोला गाउँपालिकाले ३५, तमानखोला गाउँपालिको १८, ताराखोला गाउँपालिकाले ३० थान, निसीखोला गाउँपालिकाले ३६ थान र बरेङ गाउँपालिको ३५ थान गरी जम्मा तीन सय ८९ थान म्याट्रेस सहयोग गरेको छ।
विभिन्न स्थानीय तहबाट प्राप्त बिस्ताराहरू सम्बन्धित स्थानीय तहमा रहेका प्रहरी चौकीमा वितरण गरिएको छ। जिल्लामा कार्यरत सबै प्रहरी कर्मचारीलाई म्याटे«स उपलब्ध गराउने अभियान निरन्तर सञ्चालन हुने बताइएको छ।
प्रहरी सरुवा हुँदा आफूले प्रयोग गरेका बिस्तारा बोकेर लैजानुपर्ने बाध्यता रहेकामा अब यो कार्यक्रम लागू भएपछि जिल्लामा आउने प्रहरीलाई सहज हुनेछ। कुनै पनि प्रहरी कर्मचारी सरुवा भएर जाँदा आफूले प्रयोग गरेको म्याटे«स लैजान पाउने छैनन्।
नयाँ आउने कर्मचारीले आफ्नो विस्ताराको बन्दोबस्ती गर्नुपर्ने झन्झट हटेको छ। ‘प्रहरीले आफ्नो सुरक्षा गर्न सकेमा जनताको शान्ति सुरक्षा गर्ने हो,’ बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले भन्नुभयो– ‘नागरिकको सुरक्षामा खट्ने प्रहरीको सुरक्षा गर्नु हाम्रो दायित्व हो।’
सरकारले प्रहरी कर्मचारीलाई उपलब्ध गराउने सेवा सुविधा आधारभूत तहको पनि नभएको उल्लेख गर्दै बडीगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले प्रहरी चौकीको स्तरवृद्धि, दैनिक उपयोग्य सामग्रीको उपलब्धताजस्ता विषयमा स्थानीय तहले सहयोग गर्दै आएको बताउनुभयो।