• ९ वैशाख २०८२, मङ्गलबार

शीतभण्डार निर्माणमा चासो

blog

स्याङ्जा समाचारदाता

स्याङ्जा, माघ २५ गते । पुतलीबजार नगरपालिका–११, जैसीडाँडाको शीतभण्डारमा राखेका सुन्तला कुहिन थालेपछि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ। सुन्तला भण्डार गरी राखेको एक महिनामै कुहिएपछि प्रदेश सरकार आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दास र कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङ, सांसद सुधीरकुमार पौडेललगायतको टोलीले शीतभण्डारको निरीक्षण गरेको हो। 

प्रदेश सभा सदनमा सांसद पौडेलले यस विषयमा कुरा उठाएपछि मुख्यमन्त्री खगराज अधिकारीले चासो राखेपछि अर्थ तथा कृषिमन्त्रीको टोलीले शीतभण्डारको निरीक्षण गरेको हो। 

शीतभण्डार निरीक्षणमा मन्त्री सुन्दासले सुन्तला कुहिँदा किसानहरू मारमा परेको बताउँदै किसानका पक्षमा निर्णय गर्ने बताउनुभयो। कृषिमन्त्री गुरुङले अबको मन्त्रिपरिषद्बाट केही न केही राहत दिने बताउँदै आगामी वर्ष सबै सुन्तला सुरक्षित हुनेगरी राखिने बताउनुभयो। 

कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले किसानको सुन्तला टिपाइ, शीत भण्डारणमा भण्डारण प्रक्रिया र प्राविधिक पक्षको कमजोरीका कारण भण्डारण गरिएका सुन्तला बिग्रेको बताउनुभयो। 

१० डिग्रीमा राख्नुपर्ने सुन्तला तीन डिग्री हुँदा राखिएको बताइएको छ । शीतगृहमा सबैभन्दा धेरै २९ हजार ५३२ केजी सुन्तला राख्नुभएका पुतलीबजार–७ का कृषक डिलबहादुर रानाले १७ हजार ७५६ केजी सुन्तला कुहिएको बताउनुभयो। मङ्सिर १४ गते चैतसम्म राखेर मुनाफा कमाउने लक्ष्य लिएर १६७ कृषकले सुन्तला राखेकामा दुई महिनामा शीतगृह खाली भएको छ।