• १२ मंसिर २०८१, बुधबार

रामकथा प्रवचन सुरु

blog

भैरहवा समाचारदाता

भैरहवा, माघ २५ गते । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा बृहत् राम कथा प्रवचन सुरु भएको छ। भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापूले कथा वाचन सुरु गर्नुभएको हो। 

फागुन ३ सम्म चल्ने कथा वाचनमा नेपाल, भारतसहित विश्वभरका धार्मिक एवं आध्यात्मिक भक्तजनको सहभागिता छ। यसले लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने भन्दै स्थानीय र पर्यटन व्यवसायी हर्षित देखिएका छन्। 

कथा वाचनका लागि गुरु बापू सोमबार भारतबाट चार्टर विमानमार्फत भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आइपुग्नुभएको हो। आयोजक राम कथा प्रेमयज्ञ समिति, लुम्बिनीका अनुसार लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभा हलमा प्रवचन सुरु भएको छ। बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक भएको प्रवचनले लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

निरन्तर नौ दिनसम्म चल्ने प्रवचनमा नेपालबाहेक भारत र विश्वभरका दुई हजारभन्दा बढी श्रद्धालु लुम्बिनी भित्रिएका छन्। कथा वाचनले लुम्बिनी क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण टेवा पुग्ने कार्यक्रम संयोजक राजेशकुमार अग्रवालले बताउनुभयो।

आध्यात्मिक गुरु बापू भारतलगायत विश्वभर प्रख्यात हुनुहुन्छ। आध्यात्मिक गुरु मोरारीको लुम्बिनीमा भइरहेको राम कथा प्रवचन ९१२औँ हो। यसअघि उहाँले ९११औँ कथा वाचन गरिसक्नुभएको छ। नेपालमा यसअघि सन् २०२१ मा मुक्तिनाथ, २०२२ मा जनकपुरमा कथा वाचन भइसकेको छ। त्यसअघि काठमाडौँ र भुसुण्डी सरोवर तिलिचो तालमा पनि कथा वाचन भएको थियो।

लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराइएको छ। ‘साँचो प्रेम र करुणा’को सन्देश लिएर विश्व यात्रामा रहनुभएका बापूले सबै धर्मका प्रमुख तीर्थस्थल एवं प्रमुख स्थानहरूमा प्रवचन गर्दै आएको अग्रवालले बताउनुभयो। उहाँको यो अभियानअन्तर्गत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा राम कथा प्रवचन सम्पन्न भइसकेको छ। 

“नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रम आयोजना गरिएको हो,” उहाँले भन्नुभयो। आयोजक कमिटीका सदस्य कृष्णकुमार जलानले लुम्बिनी क्षेत्रका लागि यो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण भएको बताउनुभयो। “यसले लुम्बिनीको प्रवद्र्धनमा ऐतिहासिक काम गर्नेछ,” उहाँले भन्नुभयो। 

यसअघि सन् २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो। कार्यक्रमको चर्चित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० भन्दा बढी देशमा प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ। 

लुम्बिनीमा राम कथा वाचनका कारण यस क्षेत्रका सबैजसो होटल पूर्ण रूपमा ‘अग्रिम बुकिङ’ भइसकेका छन्। लुम्बिनी होटल सङ्घ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पर्यटन क्षेत्रको उत्थानका लागि यो कार्यक्रम फदलायी हुने विश्वास व्यक्त गर्नुभयो।