भैरहवा समाचारदाता
भैरहवा, माघ २५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले मुलुकको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ । अर्थतन्त्र विकासको मुख्य आधारमध्ये पर्यटन क्षेत्र भएकाले निजी क्षेत्रले महत्त्वपूर्ण काम गरेको उहाँको भनाइ थियो ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिको २५औँ वार्षिकोत्सव समारोहमा उहाँले लुम्बिनी प्रदेश सरकारले पनि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै पर्यटनलाई पनि प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । “आगामी दिनमा पर्यटन क्षेत्रमा मुलुकका धेरै नागरिक सामेल हुनेछन्, त्यसमा पनि लुम्बिनी प्रदेशवासीको ठूलो योगदान रहनेछ,” उहाँले भन्नुभयो । पछिल्लो समय पर्यटन क्षेत्रमा केही समस्या देखिएकाले प्रदेश सरकारले निजी क्षेत्रका समस्या समाधान गर्दै दिगो विकासमा ध्यान दिने उहाँले बताउनुभयो ।
पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आफू गृहमन्त्री हुँदा पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि राति १२ बजेसम्म रेस्टुरेन्ट तथा पसल खोल्न पाउने निर्णय गराएको जानकारी दिनुभयो ।
उक्त निर्णयपछि भैरहवाका केही ठाउँमा रात्रिकालीन व्यवसाय पनि सुरु भएको उहाँले बताउनुभयो । पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निजी क्षेत्र फस्टाएमा राज्यलाई पनि आर्थिक विकास गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले सानो खाजा पसलबाट सुरु गरेको व्यवसाय आज विशाल हुनुमा सबैको साथ र सहयोग रहेको बताउनुभयो ।