• १२ मंसिर २०८१, बुधबार

लागूऔषध दुर्व्यसनीविरुद्ध अभियान

blog

रामेछाप समाचारदाता

रामेछाप, माघ २५ गते । रामेछापको पालिकास्तरमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लागूऔषध दुर्व्यसनीविरुद्ध अभियानको थालनी गरेको छ । 

विद्यालयस्तरबाटै बालबालिकालाई सचेत गराउन जिल्लाका विभिन्न विद्यालयमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिँदै आएकोमा अहिले निर्वाचित जनप्रतिनिधिहरूलाई समेत राखेर पालिकास्तरमा यो अभियान सुरु गरिएको हो । 

यसअघि जिल्ला प्रहरीले विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम गरी शिक्षक, विद्यार्थी, अभिभावकलाई लागूऔषधविरुद्ध सचेतना र कानुनी ज्ञानका विषयमा सचेतना गराउँदै आएको थियो । यही अभियानअन्तर्गत रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी र जिल्लास्थित सुरक्षा प्रमुखहरूले जिल्लाको उमाकुण्ड गाउँपालिकामा जनप्रतिनिधि र स्थानीय नागरिकसँग लागूऔषध दुव्र्यसनीका बारेमा संवाद गर्नुभएको छ । 

कार्यक्रममा लागूऔषध दुर्व्यसनी , यसले स्वास्थ्य र समाजमा पार्ने असर, शिक्षा, स्वास्थ्य रोजगारका क्षेत्रमा पार्ने असरका बारेमा छलफल गरिएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताउनुभयो । “यसअघि जिल्ला प्रहरी कार्यालयले विद्यालयस्तरमा यो अभियान सञ्चालन गर्दै आएको थियो, अहिले पालिकास्तरका जनप्रतिनिधिहरूलाई पनि समेटेर सुरु गरिएको यो अभियान क्रमशः जिल्लाका सबै पालिकामा सञ्चालन हुन्छ,” उहाँले भन्नुभयो । 

प्रमुख जिल्ला अधिकारी रेग्मीले समाजमा लागूऔषध दुव्र्यसनीको कारण कुनै पनि समयमा आपराधिक गतिविधि हुन सक्ने अवस्थालाई हेरेर लागूऔषध नियन्त्रणको विषयमा नागरिकलाई जानकारी दिने उद्देश्यले यो अभियान सुरु गरिएको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले भन्नुभयो, “सभ्य समाज निर्माणका लागि सबैको उत्तिकै भूमिका हुन्छ । लागूऔषध नियन्त्रणको कार्यमा सबै पक्षबीच सहकार्यको खाँचो अत्यावश्यक छ, त्यसैले निर्वाचित जनप्रतिनिधिहरूसँग पनि यसबारेमा छलफल गर्ने अभियान सुरु गरिएको हो ।”